हुलाकी न्यूज, काठमाडौं, २२ आश्विन । नेपाली कांग्रेसका सबै मुख्य नेताले नै प्रधानमन्त्री बन्ने इच्छा व्यक्त गरेपछि कांग्रेसले आफ्नो पार्टीको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार छनौट गर्न सकेन । शुक्रबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीका तीन शिर्ष नेताले नै प्रधानमन्त्रीको उम्मेदवारमा दाबी गरेपछि बैठक बिना निश्कर्ष सकियो ।
कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा माइक खोसाखोस नै भयो । शिर्ष नेताहरुले छुट्टाछुट्टै उम्मेदवारीको दाबी गरेपछि बैठकको निर्णयबारे केन्द्रीय सदस्यहरु नै अन्योलमा परेका छन् ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकमा केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम सकिएपछि उपसभापति रामचन्द्र पौडेलले बोलेका थिए । उनले सबैको धारणा कांग्रेसकै नेतृत्वमा सरकार बनाउने आएको भन्दै आफूलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन आग्रह गरे ।
पौडेलले बोल्नुअघि लामो सम्बोधन गरेका वरिष्ठ नेता शेरबहादुर देउवाले संसदीय दलको चुनाव गर्न माग गरेका थिए ।
सभापति सुशील कोइरालाले भने पार्टी पदाधिकारीहरुबीच सल्लाह गर्दै निर्णय गर्ने सुनाएका थिए ।
तर, रामचन्द्रले प्रधानमन्त्रीको उमेद्वार बनाउन आग्रह गर्नासाथ केन्द्रीय सदस्यहरुले उठेर यो वैठकको निश्कर्ष के हो भनेर प्रश्न गरे । लगतै वरिष्ठ नेता देउवाले पौडेलका हातबाट माइक तानेर भने, ‘हामी तीनैजना प्रधानमन्त्रीको उम्मेदबार । अब अन्य दलसँग छलफल गरेर जसले समर्थन जुटाउन सक्छ, उसलाई नै प्रधानमन्त्री बनाउनुपर्छ ।’
फेरि उपसभापति रामचन्द्र पौडेलले देउवाका हातबाट माइक तानेर पदाधिकारी बैठकमा छलफल गरेर फेरि केन्द्रीय समितिमा आउने बताए ।
यता, केन्द्रीय सदस्यहरु पनि फरक फरक कित्तामा उभिएका छन् ।
शुक्रबारको बैठकमा आनन्द ढुंगाना, दिलबहादुर घर्ती लगायतका नेताहरुले पार्टी सभापति कोइरालाकै नेतृत्वमा सरकार गठन गर्नु धारणा राखेका छन् । देउवा पक्षले भने तत्काल संसदीय दलको नेताको चुनाव गर्नु पर्ने धारणा राखेका थिए ।
बैठकमा कांग्रेस नेता गगन थापाले भने शीर्ष तीन नेता कांग्रेसको नेतृत्वमा सरकार गठनको पक्षमा देखिएको भन्दै अहिलेसम्म किन चुप बसेको भनेर प्रश्न गरेका थिए । थापाले अदृष्य शक्तिको आड र भरोसामा सबैले आ–आफ्नो उम्मेदवारी दिएको दाबी गरे ।
तस्विर : अनलाइनखबर



