हुलाकी न्यूज, काठमाडौं २२ आश्विन । संघीय लोकतान्त्रिक मोर्चाका दुई घटक राष्ट्रिय मधेश समाजवादी पार्टी र मधेशी जनअधिकार फोरम(गणतान्त्रिक) बारे सरकारका विषयमा आएको समाचार भ्रामक रहेको दुबै पार्टीका अध्यक्षले बताएका छन् ।

हुलाकी न्यूजसँग कुराकानी गर्दै राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीमा समर्थन गरेको बारे आएको समाचार गलत भएको बताएका छन् । उनले अहिले यस विषयमा छलफल नै नभएको र छलफल गर्ने समय पनि नआएको बताए ।

अध्यक्ष भण्डारीले भने,‘नेपालको मिडिया कम्युनिष्टहरुको हातमा गएको देखिन्छ, हिटलरले प्रचार गरेको जस्तै ओलीको बारे अहिले प्रचार हुँदैछ । मधेशवादी पार्टीहरुलाई बदनाम र जनतालाई भ्रमित गर्ने काम हुँदैछ ।’

यता मधेशी जनअधिकार फोरम (गणतान्त्रिक)का अध्यक्ष राजकिशोर यादवले हुलाकी न्यूजसँग भने,‘ओलीलाई हाम्रो समर्थन विषयमा आएको समाचार विल्कुल गलत हो । मधेश अहिले जलिरहेको अवस्थामा हामी सरकारमा जाने कुरा सोच्न पनि सकिदैन । केही राष्ट्रिय मिडियाले बदनाम गराउन यस्तो समाचार ल्याएको हो ।’

अध्यक्ष यादवले अहिलेको मुख्य विषय संविधान संशोधन रहेको बताउँदै अहिले मधेशीहरुलाई अलमलमा पर्ने काम भइरहेको बताए । यादवले अहिले सरकारको विषय हाम्रो लागि प्राथमिकता नभई अहिले मधेशको माग प्रथमिकतामा रहेको बताए ।

ओली मात्र रिङमा भएर केही हुँदैन : भण्डारी

अध्यक्ष भण्डारीले अहिले एमाले अध्यक्ष ओली मात्र प्रधानमन्त्रीको रिङमा देखिएको र एक्लै ओलीबाट केही नहुने बताए । भण्डारीले अर्को पक्षबाट पनि प्रधानमन्त्रीको उम्मेदबार आए मात्र केही हुन सक्ने बताए ।

भण्डारीले भने,‘एमाओवादीले सहमतिय सरकारमा ओलीलाई समर्थन गर्ने भनेको छ, बहुमतियमा होइन । यता काँगे्रसको पनि आधिकारीक धारणा आएको छैन । र, अहिले नै प्रधामन्त्री बनी सकेको जस्तो ओली देखिन्छ ।’

भण्डारीले काँग्रेसलाई बाहिर राखेर बन्ने सरकारबाट संविधान संशोधन हुन नसक्ने जिकिर गरे । उनले बरु एमालेलाई बाहिर राखेर बन्ने सरकारले संविधान संशोधन गर्ने सक्ने बताए ।

2 COMMENTS

  1. Rastri midiya le kunai samudai lai badhi focus gari galat samachar sampresan gardai aayeko 6. r madhesh parti satruta purn bayawhar gardai aayeko 6 . taysai le yasto khas badi madiya lai sampurn madhesi samudai le bahiskar gari hamro aaphno sawatantra madiya kholne din aai sake ko 6

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.