
हुलाकी न्यूज, काठमाडौंः संघीय समाजवादी फोरम नेपालको छैठौं केन्द्रीय समिति बैठक विभिन्न निर्णय गरी सम्पन्न भएको छ। तीन दिनसम्म काठमाडौंमा चलेको फोरमको बैठकले तीनवटा प्रतिवेदन पारित गरेको छ भने केही पदपुर्ति गरेको छ।
यसैगरी केन्द्रीय समिति बैैठकल एकीकृत पार्टीको प्रथम महाधिवेशनको मिति तय गरेको छ।
बैठकले आगामी माघ २७, २८ र २९ जनकपुरधाममा प्रथम महाधिवेशन गर्ने निर्णय गरेको छ ।
पहिलो दिनदेखि नै संविधान संशोधनको बारेमा ठोस ढंगले उठेको आवाजलाई मूर्त रुप दिँदै संंविधान संशोधन बारे सरकारसँग लिखित एवं सार्थक सहमति नभएसम्म सरकारमा नजाने प्रष्ट पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रष्ट पारेका छन्।
बैठकमा सहअध्यक्ष राजेन्द्र श्रेष्ठले प्रस्ततु गरेको राजनीतिक प्रतिवेदन, महासचिव रामसहाय प्रसाद यादवले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र महासचिव रणध्वज कंदङवाद्धारा प्रस्तुत कार्यसम्पादन प्रतिवेदन सर्वसम्मतले पारित भएको छ ।
मधेशी, आदिवासी जनजातिलगायतका विभिन्न समुदायको सामाजिक सांस्कृतिक एवम् धार्मिक पहिचानसँग सम्बन्धित रहेको राष्ट्रिय बिदाहरु कटौती गर्ने सरकारको निर्णय फिर्ता लिन बैठकले सरकारसँग माग गरेको छ।
बैठकले नेपालको संविधानको धारा ५६ को उपधारा (५) माभएको व्यवस्थाअनुसार स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्र स्थापना गरी सोको क्षेत्राधिकार समेतको व्यवस्था गर्न माग गरेको छ।
यसैगरी, जन्मसिद्ध नागरिकता प्राप्त नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन माग गरेको छ।
नीति, सिद्धान्त मिल्ने पार्टी वा संगठनहरुसँग पार्टीगत एकता र मुद्दा मात्र मिल्ने शक्तिहरुसँग कार्यगत एकता एवं मोर्चागत रुपमा अगाडि बढ्ने पार्टीको नीतिलाई निरन्तर रुपमा जारी नै राखिरहने निर्णय भएको छ ।
बैठकले पदाधिकारीमा रिक्त रहेको पदपूर्ति गर्दै राजनीतिक समिति र केन्द्रीय समितिमा मनोनयन गरेको छ ।
प्रकाश अधिकारीलाई पार्टीको उपमहासचिवमा चयन गरेको छ भने बाँकेबाट प्रत्यक्ष निर्वाचित सांसद इस्तियाक राईनलाई केन्द्रीय सचिवमा चयन गरेको छ। पाँचजनालाई राजनीतिक समिति र २७ जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ।
यसैगरी ललितपुरमा फोरम नेपालले आफ्नै जग्गामा पार्टी केन्द्रीय कार्यालय र बीरगञ्जमा प्रशिक्षण भवन बनाउने निर्णय गरेको छ ।



