
मनोज बनैटा यादव, लहान । सात वर्षीय बालकसहित आठ जना घाइते हुने गरी भएको विस्फोटको जिम्मेवारी जयकृष्ण गोइतले लिएका छन् ।
सिरहा जिल्लाको लहान नगरपालिकाको दुर्गा मन्दिर नजिकैको विकास ट्रेर्डर्समा एक बजेतिर विस्फोट भएको हो ।
विस्फोटमा पसलका संचालनक विकास शारडा र उनका भाई राहुल शरडासहित पसलमा काम गर्ने अस्मिता चौधरी र बविता चौधरी घाइतेसमेत भएकको प्रहरीले जनाएको छ।
ग्राहक कासिन्द्र यादवका सात वर्षीय छोरा सतिस यादव र श्रीमति देवकुमारी घाइते भएकी छन् । यसैगरी माधोपुरकी वविता यादव र सप्तरीकी मोनिका देवी राम पनि घाइते भएकी छिन् । घाइतेहरुको उपचार लहानमा भइरहेको छ ।
पसलमा आएका एक व्यक्तिले छोडेर गएको झोला विस्फोट भएको थियो । प्रहरीले टाइम बम हुन सक्ने आशंका गरेको छ भने गोइतले कुकर बंम विस्फोट गराएको दावी गरेका छन् ।
आर्थिक सहयोग लिन गएका कार्यकर्तालाई प्रहरीद्वारा पक्राउ गराउन षड्यन्त्र गरेको आरोपमा पसल सञ्चालनकलाई लक्षित गरी विस्फोट गराइएको गोइतले विज्ञप्तीमार्फत जनाएको छ ।



