लहान /
नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले संविधान संशोधनमार्फत संघीयता व्यवस्थापन गरी  सर्वस्वीकार्य बनाउनुपर्ने बताएका छन्।

लहानमा आयोजित पार्टीको ‘प्रदेश १ र २ को लुम्बिनी बैठक भाव सम्प्रेषण’ कार्यक्रमअन्तर्गत मंगलबार बिहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा संयोजक भट्टराईले पहिलो संविधानसभाको राज्य पुनःसंरचना समिति र आफू प्रधानमन्त्री रहेका बेला बनेको राज्य पुनःसंरचना आयोगको प्रतिवेदनलाई आधार मानेर संघीयता व्यवस्थापन गर्नुपर्ने बताए।

‘जातीय एकता कायम गर्दै तत्काल संविधान संशोधन गरे मात्र मुलुकमा दिगो शान्ति स्थापना हुन्छ र त्यसले विकास समृद्धि कायम हुन्छ’ भट्टराईले भने ‘अन्यथा मुलुक फेरि ठूलो द्वन्द्वमा फस्ने खतरा रहन्छ।’ जारी नै नगर्ने र जसरी भए पनि जारी गर्ने दुई अतिवादी प्रवृत्तिलाई चिर्दै अपूर्ण रहेको संविधानलाई संशोधनमार्फत् पूर्ण बनाउनु पर्ने मान्यतासहित अाफूले पनि हस्ताक्षर गरेको उनले स्मरण गरे।

‘त्यतिबेला संविधानविरुद्ध ‘ब्ल्याक आउट’ गर्नेहरू अहिले हात जोडेर सत्ताको भागबण्डामा लाग्दैछन्’, उनले भने, ‘त्यसले संविधान संशोधनको मुद्दा पुनः ओझेल पर्ने त होइन भन्ने आशङ्का बढेको छ।’

मधेशी थारु, आदिवासी जनजाति र खस आर्यसहितको मुख्य क्लस्टरलाई समावेशी समानुपातिक प्रतिनिधित्वसहितको राज्य सत्ता बन्न सके मात्र मुलुकमा दिगो शान्ति स्थापना हुने भन्दै भट्टराईले  त्यसका लागि आफ्नो पार्टी लडिरहेको दाबी गरे।

भट्टराईले विचार मरिसकेको र आवरण मात्र रहेको वाम गठबन्धन सरकारले मुलुकको समृद्धि र विकासको नारा लगाए पनि मुख्य कुरा संविधान संशोधन नगरी समस्याको हल नहुने र तर आफ्नो पार्टीले प्रतिपक्षमा बसेर राम्रो कामका लागि सघाउने बताए। -थाहाखबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.