
हुलाकी न्यूज, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको समानुपातिक सुची कलस्टर अनुसार नै हुने भएको छ । जसअनुसार खस आर्य महिला कोटाबाट नरमाया ढकाल सांसद हुने भएकी छिन् ।
राजपाले पठाएको समानुपातिक तर्फको प्रतिनिधि सभा सदस्यको सुची सच्याउन निर्वाचन अयोगले आग्रह गरेपछि सुची सोमबार अबेर राती पुनः संशोधन भएको छ ।
खस आर्य महिलातर्फको सुची नमिलेको भन्दै निर्वाचन आयोगले सच्याएर पठाउन आग्रह गरेको थियो ।
राजपा अध्यक्ष मण्डलका नेताहरुले सोमबार अबेर रातीसम्म छलफल गरेर खस आर्य महिलाको कोटामा नरमाया ढकाललाई नै राख्ने सहमति गरेका छन् ।
यसअघि मुस्लिम कोटाबाट चुन्नी खातुनको नाम हटाएर खस आर्य महिलामा रेणु शर्माको नाम पठाइएको थियो ।
उक्त नाम आयोगले अस्वीकार गरेपछि नरमाया ढकालको नाम राखिन लागेको स्रोतको भनाईछ ।
बाँकी पाँच जनाको नाम जस्ताको त्यस्तै रहेको छ ।
आदिवासी जनजाति महिलाको तर्फबाट रानी मण्डल र अमृता अग्रहरीको नाम टुगो लागेको छ भने मधेशी महिलामा चन्दा चौधरी, दलित महिलामा दुलारी देवी खंग र अर्को खस आर्य महिलामा निर्जला राउतको नाम टुंगो लगाइएको छ ।
निर्वाचन आयोगको अनुसार संशोधित सुची बुधबारसम्म निर्वाचन आयोगलाई बुझाइने स्रोतले जनाएको छ ।
चन्दा चौधरी (मधेशी महिला)
दुलारी देवी खंग (दलित महिला)
अमृता अग्रहरी (आदिवासी जानजाति महिला)
रानी मण्डल (आदिवासी जनजाति महिला)
निर्जला राउत (खस आर्य महिला)
नरमाया ढकाल (खस आर्य महिला)



