
हुलाकी न्यूज, काठमाडौं । संघीय समाजवादी फोरम नेपालले समानुपातिक तर्फको प्रतिनिधि सभा सदस्यको नाम टुंगो लगाएको छ । आइतबार अबेर रातिसम्म काठमाडौँको एक स्थानमा बसेको बैठकले मधेशी र गैरमधेशी नेताहरुको विवादका बीच एक जना पुरुषसहित पाँच जना महिलाको नाम टुंगो लगाएको हो।
समानुपातिकमा पुरुषतर्फ एक सीट मात्र पाएको फोरमले सहअध्यक्ष राजेन्द्र श्रेष्ठको नाम टुंगो लगाएको छ। श्रेष्ठको नाममा पनि विवाद भएको थियो । काठमाडौं क्षेत्रबाट फोरमलाई मत नपरेको भन्दै मधेशी नेताहरुले विरोध गरेका थिए ।
त्यस्तै, महिलातर्फ बन्द सूची अनुसार नै नाम पठाउने निर्णय भएको छ जसअनुसार मुस्लिम महिलातर्फ रोहिनाज, खस महिलातर्फ सरिता गिरी, मधेशी महिलातर्फ रेणु यादव, जनजाति महिलातर्फ रेणुका गुरुङ र दलित महिलातर्फ कलुदेवी विश्वकर्मा परेकी छन्।
सरिता गिरी चुनावअघि फोरममा प्रवेश गरेकी थिइन् ।
बिहानैदेखि जारी बैठकमा पटक–पटक विवाद भएको थियो। पार्टीले पहाडमा उल्लेख्य भोट नपाएको तर्क गर्दै केही नेताहरुले समानुपातिकमा सबै मधेशका नेताहरुको नाम पठाउनु पर्ने जिकिर गरेका थिए। बैठकमा पटक पटक विवाद हुँदा मधेशी नेताहरु एकपछि अर्कोगरी बाहिरिएका थिए ।
यसैगरी समानुपातिक सिट पाउने राष्ट्रिय जनता पार्टी नेपालको बैठक सोमबार दिउँसो ११ बजेदेखि पार्टी कार्यालयमा बस्दैछ । सामबार कै बैठकले नाम टुँगो लगाउने नेताहरुले बताएका छन् ।
निर्वाचन आयोगले सोमबारसम्म समानुपातिक उम्मेदवारहरुको नामावली पठाउन दलहरुलाई पत्राचार गरेको छ ।



