हुलाकी न्यूज, काठमाडौं ।
भारतीय विदेशमन्त्री सुष्मा स्वराजको दुईदिने नेपाल भ्रमणबाट मधेशलाई कुनै उपलब्धी नभएपनि मधेशी नेताहरुलाई सरकारमा सहभागी हुन सुझाव आएको छ ।

मधेश आन्दोलनका बेला मधेशीको पक्षमा वकालत गरेकी स्वराज यसपटक संविधान संशोधन लगायतका विषयलाई पंछ्याउँदै विकास निर्माणको विषयलाई जोड दिइन् ।

राजपा र फोरम नेपालका नेताहरुबीचको भेटमा स्वराजले आन्दोलनको चर्चा गर्न चाहिनन् । स्वराजले दुई नम्बर प्रदेशमा सरकार निर्माण गरेर अगाडि बढ्न सुझाव दिएको राजपाका नेता राजकिशोर यादवले हुलाकी न्यूजलाई बताए ।

केन्द्रीय सरकारमा सहभागी हुने अथवा नहुने विषयमा राजपाका नेताहरुलाई स्वराजले भन्नि,‘तपाईहरु आफै बिचार गरेर सरकारमा सहभागी हुनुस् ।’ यादवका अनुसार स्वराजले विकास निर्माणका विषयमा बढी जोड दिएकी थिइन् ।

संविधान संशोधनको विषयबाट पछि हटे भारत

राजपाको टोली र स्वराजबीचको भेटमा भारत संविधान संशोधनको विषयबाट पछि हटेको देखियो । राजपाका नेता यादवका अनुसार नेताहरुले संविधान संशोधनको विषय उठाउँदा स्वराजले यो तपाईँहरुको आन्तरिक मामिला भन्दै पन्छिएकी थिइन् ।

अघिल्लो पटक नेपाल भ्रमणमा आउँदा उनले संविधान संशोधनका लागि भारतले पहल गरिदिने वाचा गरेकी थिइन् । भारतको संसदमा नेपालमा गरिएको नाकाबन्दी बारे बहस हुँदा स्वराजले नेपालको नेतृत्वले आफूले दिएका सुझावलाई बेवास्ता गर्नु नै अहिलेको संकटको कारण भएको दावी गरेकी थिइन् । उनले संविधान संशोधनमा भारतको चासो पनि स्पष्ट राखेकी थिइन् ।

तर यस पटकको भ्रमणको क्रममा स्वराज आन्दोलनका विषयमा कुरा गर्न चहिनन् ।

राजपा नेता यादवका अनुसार स्वराजसित भेटका क्रममा उनले मधेशी नेताहरुलाई मिलेर निर्वाचन लडेको र परिणाम राम्रो आएकोमा भारत खुशी भएको बताएकी थिइन् ।

उपेन्द्रसँग एकताको प्रशंग

स्वराजले राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालका नेताहरुसँगको भेटमा स्वराजले सम्भव भए पार्टी एकीकरण गरेर अगाडि बढ्न सुझाव दिइन्।

शुक्रबार विहान फोरम अध्यक्ष उपेन्द्र यादवसँगको छलफलमा पनि स्वराजले राजपा र फोरमको एकीकरणका विषयमा कुरा गरेकी छन् । फोरम अध्यक्ष यादवलाई पनि जितको बधाई दिदै राजपासँग सहकार्य गरेर अगाडि बढ्न आग्रह गरेकी
छिन्। सम्भव भए पार्टी एकीकरण गर्न पनि सुझाव दिएकी छिन् ।

स्वराजसँगको भेटपछि फोरम अध्यक्ष यादवले कुनै प्रतिक्रिया दिन चाहेका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.