हुलाकी न्युज, सिरहा । सिरहा नगरपालिकाले प्रथम नगरसभाबाट चालु आर्थिक वर्षको लागि ७१ करोड ७२ लाख ५३ हजार ३८७ रुपैयाँको बार्षिक बजेट आइतरवार एक भव्य समारोह गरि सार्वजनिक गरेको छ ।
नगरसभाबाट पारित नीति, कार्यक्रम तथा बजेटको सार्वजनिकीकरण गर्दै नगरपालिकाका उपप्रमुख डा. नमिता यादवले चालुतर्फ २२ करोड २९ लाख पाँच हजार र पूँजीगततर्फ ४९ करोड ४३ लाख ४८ हजार ३८७ रुपैयाँ गरी ७१ करोड ७२ लाख ५३ हजार ३८७ रुपैयाँको बजेट सार्वजनिक गरिन् ।
सिनपाको चालुतर्फ वडा कार्यालयहरुका लागि एक करोड ४३ लाख ५२ हजार, नपाको पाँच करोड ९९ लाख ४८ हजार तथा विषयगत शाखाका लागि १४ करोड ८६ लाख पाँच हजार रुपैयाँ छुट्याइएको छ भने पूँजीगततर्फ वडास्तरीय योजनाका लागि २३ करोड ७४ लाख ७३ हजार, नगरस्तरीय योजनाका लागि ११ करोड ३७ लाख २८ हजार ३८७, विषयगत शाखाका लागि तीन करोड ५२ लाख ९२ हजार, स्थानीय शासन तथा सामुदायिक विकास कार्यत्रक्रमवापत २३ लाख ४२ हजार, मरम्मत सम्भार कोषवापत तीन करोड, सामाजिक सुरक्षा भत्तावापत १० करोड १६ लाख ६१ हजार, म्याचिङ्ग फण्डवापत एक करोड ४० लाख, विशेष कोषवापत एक करोड, महिला, वालवालिका तथा अन्य लक्षित कार्यक्रमहरुको लागि तीन करोड ७४ लाख तथा गत आर्थिक वर्षको भुक्तानी तिर्नु पर्ने एक करोड ९२ लाख रुपैयाँ विनियोजन गरेको छ ।
नीति, कार्यक्रम तथा बजेट सार्वजनिकीकरण कार्यक्रममा बोल्दै जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेले सिरहा बजार धेरै पुराना भएरपनि केही कारणले ओझेल परेको बताए । स्थानीय निकायको निर्वाचन पछि विकास, व्यवस्थापन गर्ने जिम्मेवार व्यक्ति चयन भइसकेको अवस्थामा बजार तथा नगरक्षेत्रको विकासलाई ध्यान दिएर काम गर्न आग्रह गरे ।
सिनपा नगर प्रमुख अशेश्वर प्रसाद यादवले नगरसभाबाट बजेट पारित गर्नुभन्दा अगाडि सबै पक्षबाट सुझाव लिई हरेक क्षेत्रमा विनियोजन हुने गरी बजेट तथा योजना तर्जुमा गरिएको बताए । भौतिक पूर्वाधार विकास, आर्थिक विकास, सामाजिक विकास, वातावरण तथा विपद् व्यवस्थापन तथा सँस्थागत विकास, सेवा प्रवाह र सुशासनलाई विशेष प्राथमिकतामा राखी बजेटको वर्गीकरण गरिएको थपे ।
कार्यक्रममा संघीय समाजवादी फोरमका अध्यक्ष बादल यादवले नगरक्षेत्रको विकासमा सबै पक्षको सक्रिय सहभागीता रह्यो भने तय भएको नीति, कार्यक्रम तथा बजेटले धेरै सुधार आउने बताए । तय भएको कार्यक्रमलाई कार्यान्वयन गर्न तदारुकताका साथ लाग्न सम्बन्धित पक्षलाई आग्रह गर्दै आफुबाट हुने हरेक खालको सहयोग गर्ने प्रतिबद्धता जनाए ।
नेपाली काँग्रेसका युवा नेता डा.सुषासचन्द्र यादवले नगरक्षेत्रको
विकासका केही पक्षका योजनाहरु समेट्नि छुट हुन गएपनि बनाइएको योजनाहरुलाई प्रभावकारी रुपमा लागु गरियो भने नगरको मुहार फेर्न सहयोग पुग्ने दाबी गरे । उनले बनेको योजना लागु गर्ने सन्दर्भमा आरदर्शीता र बीच बीचमा अनुगमनको क्रियाशिलतालाई बढाउनुपर्ने बताए । नगरक्षेत्रको विकास व्यवस्थापनमा आफुबाट हुन सक्ने सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
स्वागत मन्त्वय राख्दै सिनपा–१ का वडाध्यक्ष महेश यादवले हामी सबैले मिलेर बनाएको नीति, कार्यक्रम तथा बजेटलाई सम्बन्धित पक्षका अन्य व्यक्तिहरुले दिएको सुझावलाई समेट्दै योजना कार्यान्वयन गर्ने तिर बढ्ने बताए । योजना लागु गर्न कुनै प्रकारको ढिलासुस्ती नगरि सबैले आ–आफ्नो भुमिका निर्वाह गर्नुपर्ने थपे । उनले तय भएको योजनाहरु लागु गर्ने सवालमा आफुबाट हुने हरेक प्रकारको सहयोगका लागि सक्रियपूर्वक लाग्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा पूर्व कार्यकारी अधिकृत विष्णुदेव यादव, प्याव्सनका प्रतिनिध बलराम यादव लगायतले नगरक्षेत्रको विकासबारे आ–आफ्ना विचार व्यक्त गरे । उक्त समारोहमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा, संस्था प्रतिनिधि, विकासप्रेमी एवम् नगरका विभिन्न वडाका हजारौं व्यक्तिहरुको सहभागीता रहेको थियो ।




