हुलाकी न्युज, सिरहा । सिरहा नगरपालिकाले विहिवार एक समारोह गर्दै प्रथम नगरसभा उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । बाइस वटै वडाका वडाध्यक्ष तथा सदस्य एवम् विभिन्न सरोकारवालाहरु सहभागी भएको सभामा नीति तथा कार्यक्रमबारे छलफल गरियो ।
छोटो प्रतिकृया दिँदै नगर प्रमुख अषेश्वर प्रसाद यादवले जनप्रतिनिधिबाट नगरबासीले गरेका अपेक्षा र व्यक्त भएका प्रतिबद्धतालाई टेकेर विकास व्यवस्थापनका कार्यक्रम बनाई लागु गर्नेतिर लागीरहेको बताए । उनले चुनावी दौरानमा जनता समक्ष गरेको प्रतिबद्धता नबिर्सेको बताए ।
जनता नै सर्वोपरी भएको हुँदा जनता समक्ष गरेको प्रतिबद्धतालाई पहिलो प्राथमिकतामा राखेर नगरको हरेक गतिविधि संचालन गरिने उनले दोहराए । उनले जनतासँग जसले धोकाधरी गर्छ उसको भविष्य अन्धकारमा पर्ने निश्चय रहेको दाबी गरे ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सिनपाका उपमेयर डा. नमिता कुमारी यादवले नगरपालिकाको चौतर्फी विकास र व्यवस्थापनका लागि योजनाहरु बनाएर प्रस्तावको रुपमा विभिन्न समिति तथा वडाध्यक्ष र सदस्यहरु समक्ष उनीहरुको राय सुझावका लागि पेश भएको छ । योजनासँग सम्बन्धित समिति, उपसमिति तथा अन्य सम्बन्धित व्यक्ति एवम् निकायको सुझाव आइसकेपछि मात्र ठोस रुप लिइने उनले थपिन् ।
उनले सही सुझावलाई समावेश गरेर योजनालाई ठोस रुप लिइने प्रतिबद्धता जनाउदै कानून सँगत र प्राप्त बजेटले भ्याएका योजनाहरुलाई आउने केही महिना भित्र लागु गर्ने तर्फ अघि बढ्ने र थप योजनाहरुलाई पुरा गर्नका लागि बजेट व्यवस्थापनको प्रयासमा लाग्ने उनले जनाए । ‘योजना तथा विभिन्न खाले कार्यक्रमलाई प्रस्तावको रुपमा तयार पारेर हामी त्यसलाई छलफलको माध्यमले अन्तिम रुप दिएर नगर परिषद्को तयारीमा जुटेका छौं,’ उनले थपिन् ।
जनप्रतिनिधिहरुको आगमनमा पहिलो नगर परिषद् हुन लागेको हुँदा यसलाई कसरी नमूना बनाउनतिर लागीरहेको प्रशासकीय प्रमुख सुरेश राउतले बताए । उनले कर्मचारीबाट हुनुपर्ने सहयोग र सक्रियतालाई उच्च पार्दै रात दिनको प्रवाह नगरी खटिरहेको थपे ।
आय–व्यय र नगर क्षेत्रभित्रका सार्वजनिक सम्पतिलाई संरक्षण गर्दै नगर कोषमा कुन तरिका अपनाउदा बढि भन्दा बढि आर्थिक बृद्धि हुन्छ त्यसतिर लागी परेर काम गर्दै आएको लेखा अधिकृत प्रमान्नद मण्डलले बताए । उनले आन्तरिक आय बृद्धि भयो भने बाहिरबाट आउने अनुदान तथा अन्य दातृ निकाय सिनपाप्रति आकर्षित हुने सुनाए ।
उद्घाटन समारोहमा सिनपा वडा नं.१ का वडाध्यक्ष महेश यादव, १९ नं.वडाका वडाध्यक्ष गोपाल यादव, वडा नं. १८ लक्ष्मीतियाका वडाध्यक्ष रामसोगारथ यादव लगायतले वडा तथा नगर क्षेत्रको सफल विकासलाई लक्षित गरेर आ–आफ्ना विचार व्यक्त गरे ।



