हुलाकी न्युज, सिरहा । जस्तोसुक्कै कठिन काममा सकारात्मक सोचका साथ लाग्यो भने त्यसलाई सफल पार्न सबैले सहयोग गर्ने निश्चय रहेको हाँस्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ले बताए । समाजका दुखी, असहाय, असक्त र गरिबको आवाज बोकेर सकारात्मक सोचका साथ अगाडि बढ्दा आफुलाई सबै ठाउँबाट सहयोग तथा सद्भाव प्राप्त भइरहेको थपे ।
सिरहाको गोलबजारमा बुधबार मुसहर समुदायसँग सम्बन्धित संस्थाहरुले आयोजना गरेको आठौं माटो दिवसको अवसरमा बोल्दै उनले त्यस्तो कुरा बताएका हुन् । उनले भने, ‘म आज माटोको कसम भन्न चाहन्छु कि हामी (धुर्मुस र सुन्तली) निरन्तर सामाजिक कार्यमा लागीरह्ने छौं ।
’छुवाछुत, उच्च जाती तथा निच जातीबीचको भेद्भाव अन्त्य नभएसम्म विकसित हुन कठिन हुने उनले तर्क गरे । सबैले आ–आफ्नो भित्रि मन साफ गरेर अगाडि बढ्यो भने विकास हुन धेरै समय नलाग्ने उनले दाबी गरे । ‘मुसहरले छोएको आफु खाँए । जात गएन । होचो भइन । जस्ताको त्यस्तै छु ।’ जातीय छुवाछुत गर्नु भनेको विकासको लिकबाट पछि पर्नु हो, उनले थपे ।
उनले आफु हिमाल, पहाड र तराईका जनताको मन जोड्ने काम गर्दै आएको बताए । उनले सरकारसँग सहकार्य गरेर सरकारले लिएका लक्ष्यलाई पुर्ति गर्न हामी अभियन्ताहरुले सक्दो सहयोग गर्ने हो सबैले यस्तो सहयोग गर्नुपर्ने थपे ।
विपद्को बेला हरेक व्यक्ति स्वयमको सरकार भएकाले सबैले पिडितलाई सहयोग गर्नुपर्ने उनको भनाई थियो । उनले भने,‘सकारात्मक सोच नभएको भए यत्रो एकिकृत नमूना बस्ती बनाउन सक्ने थिएन् ।’
रौतहटमा लगभग ६ करोडको लागतमा एकिकृत नमूना मुसहर बस्ती हस्तान्तर गर्ने तरखरमा रहेको उनले बताए । उनले भने,‘बस्ती हस्तान्तर गर्न अझ एक करोड रकम अपुग भईरहेको छ तर चिन्ता भने छैन् समयमै काम सकेर हस्तान्तर हुन्छ । यसको एउटै कारण विश्वास हो ।
’कार्यक्रममा मैथिलि साहित्यकार गायक तथा गीतकार धिरेन्द्र प्रेमर्षी र रुपा झाले चेतनामुलक गीत प्रस्तुत गरेका थिए । ‘हमरे डाला पन पथिया स देवतो पितर पुजाइछै, कहु औं बाबु तैयो महर देह किया छुवाइछै’ भन्ने बोलका मैथिली गीत प्रस्तुग गरेका थिए ।
व्यक्तिहरु सुविधाभोगी हुँदै गएको अवस्थामा पछिल्लो समय ट्रयाक्टर, स्काभेटर जस्ता उपकरणहरु बजारमा प्रचलनमा आउदा पुर्खौली पेशा संकटमा पर्न थालेको भएपनि स्मरण स्वरुप यो दिवस मनाइएको गुरुशरण सदाले बताए । उनले भने, ‘हाम्रो पुर्वजले माटोमा बगाएको पसिना अझै ताजै छ । । त्यसैको स्मरणमा माटो दिवस मनाए ।
’माटोको आठ वटा दियो बालेर कार्यक्रमका प्रमुख अतिथि धुर्मूस र मुसहर समुदायबाट पहिलो पटक माओवादी केन्द्रको कोटाबाट सामानुपातिक सांसद बनेकी फुलियादेवी सदायले संयुक्त रुपमा उद्घाटन गरे । उद्घाटन समारोहमा सहभागी भएकाहरुलाई माटोको टीका लगाए ।
जिल्ला मुसहर संघका अध्यक्ष अरुण सदायको अध्यक्षतामा भएको दिवसमा स्थानीय बाल नृत्यकारहरुले नृत्य तथा सदाय सम्पति गुरुशरण र शान्ति सदाय, युवा गीतकार संजिव महरा ‘सम्राट’, सोनु मिश्रा लगायतले गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न गाउँबाट हजारौं व्यक्तिहरुको सहभागीता रहेको थियो । मुहसर जातीको विकास र व्यवस्थापन तथा माटोलाई सम्झेर अघि बढेकाहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।



