शेरबहादुर सिंह / 
भीमदत्तनगर 

‘हर साल आउँछ माघी, माघी जान्छ आफ्नै सुरमा
खुशीयाली छ दाङमा, खुशीयाली कञ्चनपुरमा
हर साल आउँछ माघी, माघी जान्छ आफ्नै सुरमा’

गीतका शब्दझैँ मध्यपश्चिमको दाङदेखि सुदूरपश्चिमको सीमान्तकृत जिल्ला कञ्चनपुरसम्म बसोबास गर्ने थारु बस्तीमा यति बेला माघी पर्वको खुशीयाली छाएको छ । चौधरी–थारु बस्तीमा के बूढा, के तन्नेरी, सबै उमेर समूहलाई माघीको रौनकले छोपेको छ ।

पश्चिम तराईका जिल्लामा बसोबास गर्ने थारु बस्तीमा माघ महिनाको शुरुवातदेखि नै माघी पर्वलाई विशेष रुपमा मनाइन्छ । माघ १ गतेदेखि शुरु हुने सप्ताहव्यापी यस पर्वमा थारु समुदायले विभिन्न खानाका परिकारलाई बढी जोड दिन कुटानीपिसानी गर्ने, नयाँ लत्ताकपडा किन्ने र गाउँघरको सरसफाइ गर्ने काम धमाधम गरिरहेको छ । माघीको पूर्वसन्ध्यामा थारु बस्तीमा बंगुर काट्ने, बेलुकी खानपिन गर्र्दै रमाइलो गर्ने प्रचलन रहेको थारु अगुवाको भनाइ छ ।

माघी मिलन कार्यक्रममै व्यस्त नवनिर्वाचित प्रदेशसभा सदस्य कुलवीर चौधरीले माघी विशेष कार्यक्रमले गाउँबस्तीमा खुशीयाली छाएको बताउनुभयो । “दशकअघिको भन्दा अहिलेको माघी पर्व आधुनिकतातर्फ लागेको छ ”, प्रदेशसभा सदस्य चौधरीले रासससित भन्नुभयो, “पुरानो प्रचलन हराउँदै गइरहेको छ ।”

माघीका अवसरमा १ गते बिहान उठ्ने, सबै गाउँले एक जुट भएर नजिकै खोलातलाउमा एकै ठाउँमा स्नान गरेर रमाउने र आशीर्वाद लिने चलन थियो”, चौधरीले भन्नुभयो, “पुरानो चलन रहे पनि धेरै रीति र संस्कारलाई बेवास्ता गरिँदैछ ।”

माघको दोस्रो दिन अर्थात् माघ २ गते गाउँमा भल्मन्साहरु छनोट गर्नेदेखि चौकीदार र गुरुवा नियुक्तसमेत गर्न प्रचलन रहेको उहाँले जानकारी दिनुभयो । “दोस्रो दिन दाजुभाइ अलग हुने पनि प्रचलन रहेको छ”, उहाँले भन्नुभयो, “तर पछिल्लो समय त्यो पनि बिर्सिंदैछ ।” माघी पर्वलाई छोराछोरीको बिहे, अंशबण्डा र खेतीपातीको वार्षिक योजना निर्माणसमेत गर्ने अवसरका रुपमा लिने गरिन्छ ।
बेलौरीको सिंहपुरमा थारु बस्तीमा आयोजना गरिएको माघी मिलन कार्यक्रममा सांसद चौधरी सहभागी भई माघी पर्व संस्कृति बचाउन सक्रिय हुनुहुन्छ ।

“वर्ष दिनको पसिनालाई आज सुकाएर,
मीठो खाने राम्रो लाउने, रहर फुकाएर,
बल्ल आयो वर्ष दिनमा यति राम्रो चाड,
हाम्रो घर निकाखेर बटुलीमा माड,
कटौरीमा मासु अनि बटुकीमा जाँड”,

बल्ल आयो वर्ष दिनमा यति राम्रो चाड,
आफू पनि खाइदे साथी अरुलाई नि बाँड,
आज छैन कहीँ चिसो चुलो धुवाँ उठ्यो धुर धुरमा,
हर साल साल आउँछ माघी, माघी जान्छ आफ्नै सुरुमा…”

माघीमा यो गीत पनि घन्किँदैछ । थारु समुदायले माघी पर्वका अवसरमा विशेषतः ढिक्री, तरुल, सखरखण्ड र फर्सी उसिनेर खाने प्रचलन रहिआएको छ । माघीको अघिल्लो रात सँगुर काटी मासु खाने गरिन्छ, जसलाई थारु भाषामा ‘जिता मरना’ भन्ने प्रचलन रहेको पत्रकार कुस्मीले बताउनुभयो । त्यस रात थारु समुदाय मासु, जाँड र ढिकरी खाई रातभर जाग्राम बसेर ‘मघौटा’ नृत्यमा रमाउने गर्छ । माघीको दिन (माघ १ गते) झिसमिसेमै उठेर नदी, जलाशयमा गई लोटामा सिक्का राखिएको पानीले नुहाउने र नुहाइसकेपछि सिक्का लुटाउने प्रचलन छ । माघीका अवसरमा तिलको आगो ताप्नाले वर्षभरि अञ्जानवश गरिएको पाप नाश हुने धार्मिक मन्यतासमेत छ । रासस

यसैबीच प्रत्येक वर्ष झै यस वर्ष पनि काठमाडौंमा थारुहरुले विशेष कार्यक्रमको आयोजना गरेको छ । थारुहरुले प्रत्येक वर्ष काठमाडौंमा माघी महोत्सव मनाउँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.