
हुलाकी न्यूज, काठमाडौं । मधेशी, आदिवासी जनजाति र नेवार समुदायले राष्ट्रिय एकता दिवसको विरोध गरेका छन् ।
पृथ्वी जयन्तीको अवसरमा सरकारले राष्ट्रिय एकता दिवस मनाएर पश्चागमन ल्याएको आरोप उनीहरुले लगाएका छन् ।
काठमाडौंसहित विभिन्न स्थानमा सरकारी विदा सहितको पृथ्वी जयन्ती विहीबार मनाइएको छ । तर काठमाडौ मै विरोधसमेत भएको छ ।
पृथ्वी नारायण शाहको जन्मदिनको अवसरमा सरकारले विहीबार एकता दिवस भन्दै सार्वजनिक विदा दिए । लोकतन्त्र स्थापना पछि पहिलो पटक सरकारले एकता दिवसको नाममा सार्वजनिक विदा दियो । जसको चर्को विरोध समाजिक सञ्जाल तथा बौद्धिक वर्गमा भएको छ ।
केही वर्षअघिसम्म पृथ्वी जयन्तीको विरोध गर्ने माओवादीहरुले पनि आज पृथ्वी जयन्ती मनाएका छन् ।
मधेशी, आदिवासी जनजाति र नेवार समुदायमा यस दिवसको विरोध भएको छ । मधेशी समुदायका अगुवाहरुले विभिन्न माध्यमबाट विरोध गरेका छन् ।
कीर्तिपुरवासीले एकता दिवस खारेजीको माग गर्दै प्रदर्शन गरेका छन् भने वर्षौदेखि पृथ्वी नारायण शाहमाथि थुक्ने कार्यक्रम जारी राखेका छन् ।
तराई मधेश राष्ट्रिय परिषद्को अगुवाईमा काठमाडौंमा औपचारिक रुपमा पृथ्वी जयन्ती अर्थात एकता दिवसको विरोधमा प्रतिरोध दिवस मनाइएको छ ।
काडमाडौंस्थित पुल चौकी इन्जिनियरिङ क्याम्पसमा आयोजित कार्यक्रममा विश्लेषक सीके लाल, विश्लेषक राजेन्द्र श्रेष्ठ, लेखक युग पाठक, चित्रकार सुप्रिया मानन्धर, डा. ओम गुरुङ र तराई मधेश राष्ट्रिय परिषद्का कासिन्द्र यादवलगायतले एकता दिवसको विरोधमा विचार राखेका छन् ।
चित्रकार सुप्रिया मानन्धरले पृथ्वीनारायण शाहले समाजलाई विखण्डन गरेको आरोप लगाए ।
यता स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतले पनि आफ्नो फेसबुक पेजमार्फत विरोध जनाएका छन् । डा.राउतले पृथ्वीनारायण शाहलाई नरसंहारकर्ताका रुपमा प्रस्तुत गरेका छन् ।
यसैगरी राजपाका विधायक सुरेश मण्डल लगायतका नेताहरुले पनि विरोध जनाएका छन् ।



