हुलाकी न्युज सिरहा । ‘चिसोमा हाम्रो शाहारा कोही भएन्,’ सिरहा नगरपालिका–१७ निवासी चलिर सदा गुनासो गर्दै भने्,‘नपा कार्यालयबाट बाँडिएको दाउरा विपन्न भन्दा सम्पन्नतिर बढि गयो ।’ चिसो छल्न आगो तापेरै आफुहरु दिन बिताउने गरेको उनले बताए । त्यो ठाउँमा २५ घर मुसहरको हो ।
यसो त कमाउने महिना हो तर चिसोले बाँच्नै मुस्किल बनाएपछि काम बाध्य भएको चलिरले बताए । हावा–हुरीले उजाड बनेको फुसको घरमा कष्टपूर्ण दिन बिताउन बाध्य छन्, उनीहरु । ‘काम गरिन भने छाक टार्न समस्या पर्छ,’ सोही ठाउँकी कोसिला देवी सदा भन्छिन्,‘छाक हेर्नु कि ज्यान बचाउनु ?’
‘सबैले भन्छन्, भोट उसलाई यसलाई भन्नेहरु चिसोको यो बेलामा कसैले केही सोध्न आएन,’जसोधादेवी सदा भन्छिन्,‘अरु त अरु बृद्ध र बालबालिकालाई यो बेलामा बढि कष्ट भोग्नुपरेका छन् ।’ नपा कार्यालयबाट दाउरा बाँडिएको कुरा सुनियो तर आफ्नो बस्तीमा कोँही दाउरा नपाएको उनले दाबी गरिन् ।
यो मुसहर बस्ती त प्रतिनिधि पात्र मात्र हुन सिरहामा विपन्न दलित बस्तीहरुका बासिन्दाहरुको चिसोले दैनिकी जीवन कष्टपूर्ण बन्दै गएका छन् । हावासँगै बढ्दो चिसोले काम छाडेर आगो ताप्दै घरमै बस्न बाध्य भएको कृष्णपुरका लखन महराले बताए ।
स्वास्थ्य शिक्षाबारे प्रयाप्त जानकारी नपाएका विपन्न दलित तथा मुसहर बस्तीहरुका बासिन्दाहरु चिसो छल्ने नाउँमा स्वास्थ्य जोखिमलाई ध्यान दिएको पाइदैन् । उनीहरुले आगो ताप्न फोहोर प्लाष्टिक, फालिएको पुरानो चपल, पानीको बोतल र अन्य फोहोर जन्य पदार्थमा आगो लगाई ताप्ने गरेको विभिन्न स्थानहरुमा देखिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।



