वृजराज कुशवाहा, भैरहवा २० आश्विन । रुपन्देहीको भैरहवास्थित बेलहिया नाकामा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा उत्रेका मोर्चाका प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा प्रहरीसहित २१ जना घाइते भएका छन् । बेलहिया नाका ठप्प बनेको छ । विगत ३ दिनदेखि पेट्रोलियमका साथै कुनै पनि मालवाहक गाडी नेपाल भित्रिन पाएको छैन ।

मधेशी मोर्चाले गरेको नाकाबन्दी भैरहवामा कमजोर बन्दै गएपछि प्रभावकारी बनाउनका लागि महतो मंगलवार भैरहवा पुगेका हुन् । मोर्चाबीच भएको कार्य बांडफांडमा भैरहवाको सुनौली नाका तमलोपाको भागमा परेको थियो । तर नवलपरासी घर भएका तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठी र रुपन्देहीको भैरहवा घर भएका तमलोपा महामन्त्री सर्वेन्द्रनाथ शुक्लाको उपस्थिती कमजोर बनेपछि मोर्चाको सुनौली नाकाबन्दी कमजोर बन्दै गएको थियो ।

सदभावना अध्यक्ष महतो नाकाबन्दीलाइ प्रभावकारी बनाउनका लागि भैरहवा आइपुगेको खबर पाएपछि मोर्चाका स्थानीय कार्यकर्ता हौसिएका थिए । करीब ५ हजार बढीको संख्यामा उत्रेका रुपन्देही र नवलपरासीका आन्दोलनकारी सीमामा घण्टौं प्रदर्शन गरेका थिए । प्रदर्शनको क्रममा प्रहरीसंग भएको झडपमा ढुंगा हानाहान भएको थियो । प्रदर्शनकारीले हानेको ढुंगा लागी प्रहरी नायब उपरिक्षक महेन्द्र खडकाको नेतृत्वको प्रहरीतर्फ १२ जना जवान समान्य घाइते भएका छन् ।

आन्दोलनकारीतर्फ ८ जना घाइते छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । स्थानीय अस्पतालले रेफर गरेपछि भैरहवाका ३५ वर्षे बसन्त गुप्ता र सेमरपानीका २२ वर्षे महुलन गुप्तालाइ उपचारका लागि गोरखपुर लगिएको सदभावना पार्टीका केन्द्रिय उपाध्यक्ष ओमप्रकाश यादवले बताएका छन् ।

बसन्तको देब्रे पाखुरामा खुकुरीको प्रहारले गहिरो चोट पुगेको र २० वटा टांका लगाएर रेफर गरिएको बताईएको छ । त्यस्तै महुलनको खुट्टा धारिलो हतियारले काटेको छ । प्रहरीसंगै रहेर प्रतिकार गरिरहेका केही व्यक्तिहरुले धारिलो हतियार प्रहार गरेपछि मोर्चा कार्यकर्ता घाइते भएका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नवलपरासी संयोजक मुकुरजी गिरीले बताए ।

अन्य घाइतेमा कम्हरिया घर भएका वर्ष ३५ का फौदार केवट, छोटकी रामनगरका वर्ष १८ का शिवचरन केवट, धकधइ ३ का ३० वर्षे उमेश यादव र अनिल गौंडलगायतका रहेका छन् । उनीहरुको स्थानीय चन्द्रा होमियो क्लिनिकमा उपचार गरेपछि घर पठाईएको छ ।

भारतीय बजार सुनौलीमा किनमेल गरी फर्कदै गरेको अवस्थामा प्रहरी र मोर्चाबीचको दुईतर्फी झडपमा परेपछि भलवारीका ३२ वर्षे कृष्ण बहादुर विष्ट ढुंगा लागेर घाइते भएको जिल्ला प्रहरी रुपन्देहीले जनाएको छ । प्रहरीले प्रहरी नायब उपरिक्षक महेन्द्र खडका पनि घाइते नभएको र विष्टको हात नकाटिएको बताउदै मिडियामा अनावश्यक रुपले प्रचारबाजी गरिएको खुलासा गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.