गौशाला / चारैतिर आधुनिक बिजुली बत्तीले झलमल उज्यालो रहे पनि महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–३ स्थित धनिकार बस्ती का बासिन्दा वर्षौंदेखि टुकीकै भरमा जीवन बिताउँदै आएका छन् ।

तीस घरपरिवार रहेको सो धनिकार बस्तीमा वर्षौंदेखि अँध्यारो रहेको छ भने त्यस बस्तीका कुनै पनि घरमा विद्युत् जडान नभएको स्थानीयवासी पप्पु धनिकारले बताउनुभयो ।

गरिबी, विपन्नता र अभावका बीच सधैँ बस्दै आएका ३० घरधुरीका २०० जना महिला, पुरुष, वृद्धावृद्धा र बालबालिकाले आफ्नो गाउँभरि बिजुली बत्तीले उज्यालो रहे पनि आफ्नो बस्तीमा कहिल्यै उज्यालो हेर्न नपाएको बताउँछन् ।

चरम गरिबीको चपेटामा परेका त्यस बस्तीमा कुनै पनि घर पक्की छैनन् भने सबैको घर टाटी, झाँक्री र खरले बनाएको तथा अधिकांशको घरमाथि छानोसमेत नभएको त्यस बस्तीमा बिजुली बत्ती नभएर वर्षौंदेखि उनीहरु टुकी बालेरै बस्दै आएको देखियो ।

बस्तीभन्दा थोरै पर मात्रै हुने, खाने र उच्च जातिका बसोबास रहेको तथा उनीहरु सबै सम्पन्न रहे पनि आफूहरुले सधैँ खान लाउनकै लागि रोजीरोटीको जोहोमा जीवन बिताइदिने गरेको भन्दै स्थानीयवासी वृद्धा जसोधिया धनिकारनीले बिना बिजुली बत्तीमै बस्ने आफूहरुलाई बानी भइसकेको बताउनुभयो ।

बाँसको चोयाबाट डालो, नाङ्लो र टालु टपरी बनाउने पुख्र्यौली पेशा रहेको पिपराका धनिकारहरुले पुस्तौँपुस्तादेखि सोही पेशामा लागेका छन् भने अहिले उनीहरुको पेशा पनि राम्रोसँग नचलेपछि उनीहरु झन झन गरिबीको चपेटामा पर्दै गएपछि दैनिक जीवनयापनमा निकै समस्या हुने गरेको स्थानीय बुधवा धनिकारले बताउनुभयो ।

धनिकार बस्तीमा भौतिकरुपमा बिजुली बत्तीको अभावसँगै शिक्षा र चेतनामुखी बिजुलीको समेत अभाव रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.