काठमाडौं : दुई नम्बर प्रदेशमा मधेशी गठबन्धनले सरकार बनाउन बहुमत पाएसँगै तयारी सुरु गरेको छ।

दुई नम्बर प्रदेशको प्रदेश सभाको कुल १०७ सिटमा बहुमतका लागि ५४ सिट आवश्यक पर्छ। र, मधेशी गठबन्धन (राजपा+संसफो) ले ठ्याकै ५४ सिट पाएको छ।

‘हामीले प्रस्ट बहुमत पाएपछि गठबन्धनकै सरकार बन्छ,’ राजपा सचिव मनिष सुमनले भने, ‘चुनावमा पनि हामी मधेश गठबन्धनकै सरकार बनाउने तयारीसहित हिँडेका थियौं।’

प्रदेश नम्बर २ को प्रत्यक्षमा संघीय समाजवादी फोरम नेपालले २० सिट पाएको छ भने राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले १५ सिट। समानुपातिकको अन्तिम मत परिणाम अनुसार राजपाले १० सिट र फोरमले ९ सिट पाउने देखिएको छ। निर्वाचन आयोगले अन्तिम डाटा सार्वजनिक गर्दा केही हेरफेर हुन सक्ने आयोगले जनाएको छ।

‘हामीलाई पहिलेदेखि नै विश्वास थियो- हाम्रो सरकार बन्छ भन्ने,’ फोरमका विधायक शैलेन्द्रप्रसाद साहले भने, ‘बीचमा विभिन्न हल्लाहरु आए। हामी वामसँग मिलेर सरकार बनाउने पक्षमा छैनौं।’

पछिल्लो परिणाम अनुसार प्रत्यक्ष र समानुपातिक गरी दुई नम्बर प्रदेशमा फोरमले २९ सिट र राजपाले २५ सिट पाएको छ।
दुई नम्बर प्रदेश सभामा प्रत्यक्ष तर्फ ६४ सिट रहेको छ भने समानुपातिकतर्फ ४३ सिट रहेको छ।

मनिष सुमनका अनुसार प्रदेश सरकार गठनका लागि शीर्ष नेतृत्वबीच छलफल आजैबाट सुरु हुँदैछ। ‘केन्द्रको सरकारका विषयमा पनि कुरा भइरहेको हामीले थाहा पाएका छौं,’ उनले भने। छलफलले नै सत्तामा जाने या नजाने तय गर्नेछ।

http://www.pahilopost.com/content/-43898.html

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.