हुलाकी न्यूज, काठमाडौं ।
मधेशमा कुनै पनि मधेशवादी दल नरहेको भन्दै दुई नम्बर प्रदेशलाई केन्द्रीत गरी मधेश क्रान्ति फोरम विस्तार हुने भएको छ ।

पूर्व सांसद संजय साह ‘टक्ला’ संयोजक रहेको मधेश क्रान्ति फोरमले यसअघि विभिन्न समाजिक तथा सांस्कृतिक गतिविधि गर्दै आएको थियो । प्रतिनिधि र प्रदेश सभाको निर्वाचन सकिएलगतै साहले क्रान्ति फोरमलाई पार्टीको रुपमा विस्तार गर्न लागेका छन् ।

जनकपुर वम काण्डको आरोपमा जेल परेका पूर्व सांसद साहले आफ्नै नेतृत्वमा राजनीतिक दल खडा गर्ने तयारी थालेका छन् ।

पहिलो संविधान सभाको निर्वाचनमा मधेशी जनअधिकार फोरम नेपालबाट धनुषा चारमा चुनाव जितेका साह दोस्रो संविधान सभाको निर्वाचनमा सोही क्षेत्रबाट जिते । तर, पार्टी भने फेरियो । फोरमबाट उनी सद्भावना पार्टीतिर लागे । सद्भावनाका वरिष्ठ उपाध्यक्षसमेत रहेका साह स्थानीय निकायको निर्वाचनसम्म राष्ट्रिय जनता पार्टीमा सक्रिय थिए । साहको सहयोगमा जनकपुर उप महानगरपालिकामा राजपाले अत्यधिक मत ल्यायो र जित पनि दर्ता गरायो ।

प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले साहलाई ‘पेलेर गएपछि’ उनी महतोको विरुद्धमा उभिए । महतोले आफूविरुद्ध षड्यन्त्र गरेर क्षेत्र कब्जा गर्न खोजेको र आफ्नो राजनीति नै समाप्त पार्न खोजेको भन्दै निर्वाचनमा साह समूहले महतोको विरोध गर्यो ।

निर्वाचन सकिएलगतै साहले मधेश क्रान्ति फोरमलाई राजनीतिक दलको रुपमा अगाडि बढाउने निर्णय लिँदै दुई नम्बर प्रदेशका जिल्लाहरुमा संगठन बिस्तार गर्न थालेका छन् ।

बिहीवार जनकपुरधाममा मधेश क्रान्ति फोरमको विस्तारित बैठक राखेर सबै जिल्लामा संगठन बिस्तार गर्ने निर्णय भएको क्रान्ति फोरमका धनुषा संयोजक नविन यादवले बताए।

यादवले संगठन बिस्तारका क्रममा पहिलो चरणमा दुई नम्बर प्रदेशमा मधेश जागरण अभियान चलाइने जनाए।

‘दुई नम्बर प्रदेशमा मधेशवादी शक्तिको नाममा राजपा र फोरम नेपालले भोट पाएको छ। तर, उनीहरु मधेशवादी होइनन्। उनीहरुले मधेशवादलाई बिर्सेका छन्। त्यसैले अब संजय साहको नेतृत्वमा मधेश क्रान्ति फोरमले मधेशवादको बिस्तार गर्नेछ,’ यादवले भने, ‘उहाँ जेलमा भए पनि हामी बाहिर रहेकाले संगठन चलाउँदैछौं।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.