वृजराज कुशवाहा, नवलपरासी २० आश्विन । मधेश आन्दोलनको क्रममा गरिएको नाकाबन्दीले सिर्जना भएको पेट्रोलियम पदार्थको हाहाकारको मौका छोपी बढेको तस्करीलाई नेपाल प्रहरीले बढावा दिईरहेको छ । तर नवलपरासीमा स्थानीयवासीले नियन्त्रणको अभियान थालेका छन् ।
नियन्त्रणको काम थालिने बित्तिकै प्रहरीको प्रयास विफल भएको छ भने फेला परेको पेट्रोलियम पदार्थ स्थानीयवासीले नष्ट गरिदिने गरेका छन् । मंगलवार दिनभर जसो खुलेयाम रुपमा गरिएको ढुवानी कार्यमा सांझपख ठुलो अवरोध आयो । महेशपुर परासी सडकखण्डको बैरिहवामा खोसिएको हजारौं लिटर पेट्रोलियम पदार्थ सांझ नष्ट गरिएको छ । यसमा पेट्रोल र डिजल पनि छ ।
पेट्रोलियम पदार्थको हाहाकार भएपछि मोटरसाइकलका उपभोक्ताले पेट्रोलको खोजी तिब्र पारेपछि तस्करीले बढावा पाएको हो । भारतीय बजारमा रु १ सय १० मा पाइने पेट्रोल नवलपरासीमा प्रति लिटर ३ सय रुपैयासम्ममा बिक्री हुनपुगेको छ । अत्यधिक मुनाफाका कारण तस्करी गर्नेको संख्या ह्वात्तै बढेको छ ।
मोटरसाइकलको ट्यांकीमा भरेर नेपालमा आइ खन्याएर पुनः भारतीय बजारमा पुगेर भरेर आउने र नेपालमा खन्याएइ पुनः भारतीय बजारबाट नेपाल भित्र्याउने गरिएको छ । शुरुमा दैनिक रु. ५ हजार रुपैया बढी कमाउने मोटरसाइकलवाहकले पछिल्लो दिनमा ग्यालनसमेतमा बोक्ना थालेका थिए ।
नवलपरासीमा यो क्रम त्यस बेला देखियो जब मोर्चाका कार्यकर्ता नाकाबन्दीका लागि भैरहवा केन्द्रित भए । तर मंगलवार सांझ ठुलो संकटमा परे । बैरिहवा नजिकै स्थानीयवासीको एक समुहले भारतबाट ग्यालनमा ल्याउदै गरिएको पेट्रोलियम पदार्थ रोक्दै खोस्दै भूइमा पोख्ने र आगो लगाउने काम भयो । सयौं मोटरसाइकल र साइकलबाट ल्याईदै गरेको पेट्रोलियम खोस्दा १ हजार लिटरभन्दा बढी मात्रामा नष्ट गरिएको बताईएको छ । यो पेट्रोलियम सोझै राजमार्ग स्थित सुनवल, बर्दघाटका साथै बुटवल र नारायणगढसम्म जाने गरेको थियो ।
पेट्रोलियमको अवैध ढुवानीकै कारण नवलपरासीको विभिन्न स्थानमा नराम्रो घटना घट्ने गरेको छ । भारतबाट आउने पेट्रोलियम नियन्त्रण गर्न खोज्दा गएको सनिवार पकलिहवामा मधेशी मोर्चा र स्थानीय कांग्रेस कार्यकर्ताबीच हानाहान भएको थियो । त्यस्तै पकलिहवा घटनाकै प्रतिकारमा सोमवार नरसही गाविसमा एक मोटरसाईकलमा आगजनी गरियो ।



