आशिष गुप्ता, नेपालगञ्ज १९ असोज । अघोषित नाकाबन्दीका कारण बाँकेका अधिकांश पेट्रोल पम्प बन्द हुने अवस्थामा पुगेका छन् । मोटरसाइृकल चालकहरुसँग पेट्रोल सकिएपछि पेट्रोल लिन मंगलबार बिहान कुसुम पेट्रोल पम्पमा सयौंको संख्यामा लाईन बसेका छन् ।
बिगत लामो समयदेखि मधेशका जायज माँग तथा मुद्दा संविधानमा संबोधन गराउने उद्देश्यले आन्दोलनरत मधेशी मोर्चाले करिब एक सातादेखि गरेको नाकाबन्दीका कारण बाँकेको नेपालगञ्जमा पेट्रोल लगायतका इन्धनको अभाव सिर्जना भएको छ ।
पेट्रोल पम्पहरुले आवश्यकता अनुसार पेट्रोल किन्न नपाएपछि उनीहरुले दिनमा केही निश्चित समयको लागि मात्र पेट्रोल पम्प खोल्ने गरेका छन् । यता भारतको रुपैडिहास्थित पेट्रोल पम्पहरुले पनि नेपालीलाई पेट्रोल दिई रहेका छैनन् ।
यता मधेशी मोर्चा बाँकेका प्रवक्ता पशुपती दयाल मिश्राले मधेशका सम्पुर्ण जायज माँग तथा मुद्दाहरु राज्यले संबोधन नगरेसम्म नाका तथा राजमार्ग बन्द गर्ने आन्दोलन जारी रहने बताएका छन् ।



