
हुलाकी न्यूज, रौतहट । चुनाव प्रचार प्रसारका क्रममा मधेश आन्दोलन सम्बन्धी तस्वीर तथा डकुमेन्ट्री प्रदर्शनमा रोक लगाएको छ । जसप्रति मधेशवादी दलका नेता तथा अगुवाहरुले आपत्ति जनाएका छन् ।
अधिकारकर्मी एवं अधिवक्ता दिपेन्द्र झाले कुनै पनि ऐन कानुनले सहिदको फोटो प्रदर्शनमा रोक नलगाएको बताएका छन् ।
यता राजपाका नेताहरुले समेत विरोध गरेका छन् ।
मधेश आन्दोलनका शहीद सम्बन्धी डकुमेन्ट्री देखाएको भन्दै प्रहरी र मधेशी गठबन्धनका नेताहरुबीच रौतहटमा दुई पटक झडप भएको थियो । जसक्रममा आधा दर्जन घाइते भएका थिए ।
झडपपछि निर्वाचन आयोगले प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचनको प्रचार प्रसारको क्रममा शहीदको फोटो र आन्दोलन सम्बन्धी डकुमेन्ट्री प्रदर्शन गर्नमा रोक लगाएको छ ।
चुनावको क्रममा शहीदसँग सम्बन्धित सामाग्री प्रचार गर्नबाट रोक लगाएपछि रौतहटबाटै प्रतिनिधि सभाका उम्मेदवार एवं राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाले भने, ‘चुनावमा जोसँग पैसा उसले पैसा बाँड्दैछ । हामी आन्दोलनकारीसँग आन्दोलनको सम्झना छ । शहीदको फोटो छ । के हामी त्यो शहीदलाई नसम्झिने ?’
झाले भने, ‘निर्वाचन आयोग एक पक्षीय प्रयोग हुँदैछ । ठूला दलले जे भन्छन् आयोगले त्यही गर्छ । त्यसकारण निर्वाचन आयोगमाथि प्रश्न गर्ने धेरै ठाउँ छ ।’
‘कांग्रेसले बीपी कोइरालाको फोटो देखाउन पाउने, माओवादीले माओको र जनयुद्धका शहीदहरुको फोटो देखाउन पाउने, एमालेले मनमोहन र मदन भण्डारीको फोटो देखाउन पाउने तर हामीले शहीद रमेश महतो, शहीद मैहरुदिनको फोटो देखाउन नपाउने?,’ झाको भनाई थियो ।
तस्बीर : पियुस साहको फेसबुकबाट



