हुलाकी न्यूज, काठमाडौं ।
पहिलो र दोस्रो मधेश आन्दोलन ताका निकै सक्रिय मधेशका सशस्त्र समूह अहिले निश्क्रिय अवस्थामा छन् । तर पनि केही समूहले निर्वाचन विरोधी गतिविधिलाई अगाडि बढाएको छ ।

पहिलो संविधान सभाको निर्वाचनदेखि नै विरोधमा रहेका मधेशका सशस्त्र समूहले फेरि निर्वाचन विरोधी गतिविधि बढाउन थालेको देखिएको छ ।

जयकृष्ण गोइतको नेतृत्वमा २०६१ सालमा स्थापना भएको जनतान्त्रिक तराई मुक्ति मोर्चा हाल अखिल तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले निर्वाचनको विरोधमा विभिन्न स्थानमा बम विस्फोट गराएका छन् ।

गोइतले पछिल्लो साता सिरहामा वाम गठबन्धनका उम्मेदवार एवं पूर्वमन्त्री अजयशंकर नायकको चुनावी क्याम्प नजिकै बम विस्फोट गराएका थिए भने आइतबार दिउँसो सिरहा मै प्रहरीसँग झडप हुँदा एक जना म्यादी प्रहरीसहित एक प्रहरी जवान घाइते भएका छन् ।

त्यसअघि गोइतले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई लक्षित गरी बम प्रहारको प्रयास गरेका थिए ।

गोइतले यस्ता घटनाको जिम्मेवारी लिँदै विज्ञप्ति जारी गर्ने गरेका छन् । गोइतले भने,‘हामी स्वतन्त्र तराईको पक्षमा छौं । नेपाल सरकारले बन्दूकको बलमा निर्वाचन गराउन खोजेकोले हामीले बन्दूकको जवाफ बन्दूकबाटै दिदै आएका हौँ ।’

पहिलो संविधान सभाको निर्वाचनमा गोइतको सप्तरीस्थित गाउँको मतदान केन्द्रमा एउटा पनि भोट खसेको थिएन ।
प्रथम मधेश आन्दोलन ताका मधेशमा कयौं सशस्त्र समूह रहेपनि पछिल्लो समय गोइत समूह बाहेक अन्य समूहहरु सक्रिय छैनन् । अधिकांश समूहका लिडरहरु मारिएका छन् भने राजन मुक्ति र मुकेश चौधरी जेलमा छन् । बाँकी केही नेता सीमा पारी निस्क्रिय बसेका छन् ।

पश्चिम मधेशमा स्थानीय निकायको निर्वाचन ताका केही सशस्त्र समूहले सक्रियता देखाएको थियो । तर अहिलेको निर्वाचन प्रक्रियामा उनीहरु सक्रिय देखिएको छैन ।

यता जनकपुरधाम र आसपासका क्षेत्रमा एक नयाँ समूहको नामले सशस्त्र गतिविधि हुन थालेको छ । प्रहरी स्रोतले अहिले त्यस समूहको पहिचान भइ नसकेको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.