
हुलाकी न्यूज, काठमाडौं । नेपालको इतिहासमा प्रथम जननिर्वाचन सन् १९५९ तदानुसार २०१५ सालमा रघुनाथ ठाकुरले विभिन्न पार्टीहरुका मधेशी नेताहरुलाई निर्वाचन बहिस्कार आग्रह गरेका थिए । नेपाली निर्वाचनमा सहभागी हुनु आफैले–आफैलाई धोखा दिनु रहेको ठहर ठाकुरको थियो ।
तर त्यसबेला मधेशी नेताहरु निजी स्वार्थलाई नै सर्वोपरी मानेर निर्वाचन सहभागी भए । मधेशी मतदाता पदलोलुप एवं व्यक्तिगत स्वार्थमा लिप्त मधेशी नेताहरुको झुठा आश्वासनमा विश्वास गरेर । पैसा लिएर, रक्सी र मासु खाएर मतदान गरे ।
२०३७ सालमा ठाकुरले भनेका थिए,‘नेपाली जनमत संग्रहलाई मधेशीहरुको निम्ति धोखा हो ।’
नेपालमा बँदलिदो राजनीतिक परिवेशमा निर्दलीय पंचायत व्यवस्थाको सट्टा बहुदलीय प्रजातान्त्रिक व्यवस्था आएपनि परतन्त्र मधेशीहरुलाई आफ्नो स्वतन्त्रताको अधिकारको लागि संघर्ष गर्नै पर्ने हो । तर मधेशी नेताहरु नेपाली जनमत संग्रहमा सहभागी भए र मधेशी मतदाता पनि मतदान गरे ।
जयकृष्ण गोइत नेतृत्वको तत्कालिन जनतान्त्रिक तराई मुक्ति मोर्चाको आह्वानमा २०६४ सालमा नेपाली संविधानसभाको पहिलो, २०७० सालमा दोस्रा र २०७४ सालमा स्थानीय तहको निर्वाचन बहिष्कार गर्न मधेशीहरुमा अपील गरेका थियो । तर मधेशी नेताहरु नेपाली संविधानसभाको पहिलो, दोस्रा र स्थानीय तहको निर्वाचनमा सहभागी हुँदै आएका हुन् र मधेशी मतदाता मतदान गर्दै आएका हुन् । – जयकृष्ण गोइतको आधारमा
पछिल्लो पटक स्थानीय निकायको निर्वाचनमा केही स्थानमा राष्ट्रिय जनता पार्टीले निर्वाचन बहिस्कार गरेको थियो । त्यसअघि भाग्यनाथ प्रसाद गुप्ता नेतृत्वको मधेशी जनअधिकार फोरम नेपाल (मधेश)ले पनि निर्वाचनको विरोध गर्दै आएको थियो ।
अहिले पनि गोइत नेतृत्वको अखिल तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले निर्वाचन बहिस्कार गर्दै सशस्त्र प्रतिकार गर्दैछ ।
त्यस्तै, डा.सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनले निर्वाचनलाई प्रत्यक्ष रुपमा बहिस्कार नगरे पनि राईट टु रिजेक्ट मार्फत मतबदर अभियान चलाएका छन् ।



