
हुलाकी न्यूज, राजविराज । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालले सप्तरीको राजविराजमा बृहत्त चुनावी सभा गरेको छ । सभामा राजपा संयोजक महन्थ ठाकुर र फोरम अध्यक्ष उपेन्द्र यादवसहितका शिर्ष नेताहरुले सम्बोधन गरेका छन् ।
सभामा हजारौंको संख्यामा सर्वसाधारणहरुको सहभागिता रहेको थियो । सभालाई सम्बोधन गर्दै राजपाका संयोजक महन्थ ठाकुरले मधेश विरोधीहरुलाई पराजित गर्ने अवसर आएको बताउँदै यस अवसरलाई प्रयोग गर्न आग्रह गरे ।
ठाकुरले संविधान संशोधन गराउन मधेशी गठबन्धनलाई चुनावबाट बलियो बनाउन अपीलसमेत गरे ।
त्यस्तै, फोरम संयोजक उपेन्द्र यादवले यस पटक मधेशमा मधेश सरकार नै बन्ने ठोकुवा गरे । उनले दुई नम्बर प्रदेशमा मधेशी गठबन्धनको बहुमत आउने दाबी गरे ।
त्यस्तै, राजपा नेता राजेन्द्र महतोले आगामी प्रदेश र प्रतिनीधिसभा निर्वाचनमा मधेश आन्दोलनमा शहिद भएकाहरुको सपनालाई साकार पार्न मधेशी दलको गठबन्धनलाई जिताउनु आवश्यक रहेको बताए ।
नेता महताले कांग्रेस, एमाले, माओवादीलाई भोट दिनु भनेको मधेशको अपमान हुने बताए । नेता महतोले सप्तरीको मलेठमा मधेशी जनतालाई गोली हानेर हत्या गर्न आदेश दिने तत्कालीन गृहमंत्री बिमलेन्द्र निधिसंग बदला लिन आफूले जनकपुरबाट चुनाव लडेको प्रष्ट पारे ।
राजपा र फोरम नेपालको गठबन्धनले अर्को संयुक्त बृहत चुनावीसभा मंसीर १६ गते जनकपुरमा गर्नेछ ।





