
मिथिलाका राजा जनकको राजधानी जनकपुरमा रामसीताको भव्य विवाह उत्सव मनाइएको छ। साताव्यापी विवाह महोत्सवको मुख्य आकर्षण विवाहको विधि बिहीबार राति जानकी मन्दिर परिसरमा बनाइएको भव्य मण्डपमा सम्पन्न भयो। विवाहभन्दा पूर्वऐतिहासिक बाह्रबिघा रंगभूमि मैदानमा रामसीताको स्वयंम्बर गरियो।
जानकी मन्दिरबाट ढोलबाजा बजाउँदै कडा सुरक्षाबीच निस्केको जानकीको डोला तथा राम मन्दिरबाट निस्केको रामको डोलालाई रंगभूमि मैदानमा लगेर स्वयंम्बरको विधि गरिएको हो। रामायणमा त्रेतायुगमा भगवान् रामसीताको यसै रंगभूमि मैदानमा स्वयंम्बर भएको उल्लेख छ। स्वयंम्बरमा राममन्दिरका महन्थ रामगिरी राजा दशरथ र जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव राजा जनकको भूमिका निर्वाह गर्ने परम्परा रहिआएको छ। रंगभूमि मैदानमा रामसीताको स्वयंम्बर भइरहँदा नेपाली सेनाको हेलिकप्टरबाट विवाह महोत्सवमा सहभागी हुन आएका श्रद्धालुहरूमाथि पुष्पवृष्टि गरिएको थियो।
रामसीताको विवाह भएको बेला आकाशबाट देवताहरूले फूलको वर्षा गरेको हुनाले सोही परम्परालाई जीवन्त राख्न हेलिकप्टरबाट पुष्पवृष्टि गर्ने गरिन्छ।
रंंगभूमि मैदानमा स्वयंम्बर भएपछि रामसीताको डोलालाई नेतृत्व गर्दै निस्कने शोभा यात्रा नगरक्षेत्र परिक्रमा गरी पुनः जानकी मन्दिरमा फर्केको हो। त्यसपछि राति रामसीताको मिथिला विवाह विधिअनुसार मन्दिरको परिसरमा बिहे गरिने जानकी मन्दिरका छोट महन्थ रामरोशन दासले बताए।
महोत्सवमा सहभागी हुन देशविदेशबाट आएका श्रद्धालु पर्यटकहरूको घुइँचो व्यवस्थापन गर्न तथा सम्पूर्ण मेलाको सुरक्षार्थ नेपाल प्रहरीबाट आठ सय, म्यादी प्रहरी सात सय तथा सादा पोसाकमा ६० जना र सोही मात्रामा सशस्त्र प्रहरी परिचालन गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीपकुमार चापागाईंले बताए। महोत्सवमा श्रद्धालुहरूको सुविधालाई ध्यानमा राख्दै मन्दिर क्षेत्र तथा मुख्य बजारमा सवारी आवागमनमा निषेध गरी पैदलयात्रीलाई मात्र प्रवेश दिइएको थियो।
मेला भर्न आएका श्रद्धालुहरूको आवास तथा खानाखाजाको व्यवस्था विभिन्न समाजसेवी संघसंस्थाहरूले गरेका हुन्। नगरक्षेत्रमा दर्जनौं ठाउँमा भोजन, औषधि, खानेपानीलगायतका स्टलहरू राखेर श्रद्धालुहरूलाई सहज बनाउने प्रयास गरिएको हो।



