हुलाकी न्युज,महोत्तरी | राष्ट्रिय जनता पार्टी नेपालले मधेश आन्दोलनमा मारिएकाका परिवारलाई ५०–५० लाख रुपैयाँ दिने घोषणा गरेको छ।
 
महोत्तरीको जलेश्वरमा पार्टीको घोषणापत्र सार्वजनिक गर्दै राजपाले मधेश आन्दोलनका सम्पूर्ण सहिदलाई प्रति परिवार ५०–५० लाख दिने घोषणा गरेको हो।
 
घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै राजपा नेता राजेन्द्र महतोले दुई नम्बर प्रदेशमा राजपा–फोरम गठबन्धनको सरकार बन्ने दाबी गरे। ‘मधेश प्रदेशको सरकारले सहिद परिवारलाई ५०–५० लाख दिन्छ,’ महतोले भने।
 
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आन्दोलनको आह्वान गरेसँगै आन्दोलनमा शहादत दिने लाई ५०–५० लाख रुपैँया दिने विवादास्पद निर्णय गर्दा निकै आलोचना भएको थियो।
 
राजपाको चुनावी घोषणापत्रमा ५० लाख दिने कुरा उल्लेख नभएपनि दुई नम्बर प्रदेशमा आफ्नो सरकार बन्ने निश्चित भएको र प्रादेशिक सरकारद्वारा उक्त रकम उपलब्ध गराउने नेता महतोले जानकारी दिए।
 
शहिद परिवारलाई आर्थिक सहयोगबाहेक प्रादेशिक सरकारअन्तर्गत आउने सरकारी जागिर उपलब्ध गराउने, सहिद परिवारका बच्चाहरूको नि:शुल्क अध्ययनको व्यवस्था गरिने, सहिद परिवारलाई स्वरोजगारको लागि छुट्टै आर्थिक सहायता उपलब्ध गराउने पनि नेता महतोले प्रतिवद्धता जनाए।
 
‘मधेश आन्दोलनमा शहादत दिएका कारण नै देशमा संघीयता आएको र आफ्नै प्रदेशमा आफ्नै सरकार बन्ने सपना साकार हुँदैछ’ महतोले भने, ‘सहिदको सम्मानमा कुनै आँच आउन नदिने र सहिद परिवारको सम्पूर्ण जिम्मेवारी मधेश सरकारमाथि हुनेछ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.