हुलाकी न्युज, धनुषा | नेपाली काँग्रेसका प्रभावशाली नेता एवं धनुषा क्षेत्र नं ३ का नेपाली काँग्रेसका प्रत्याशी विमलेन्द्र निधिले संविधानमा देखिएको त्रुटि सुधार गर्न नेपाली काँग्रेस प्रतिबद्ध रहेको बताउनु भएको छ ।

यसअघि समेत नेकाको अगुवाइमा संविधान संशोधन प्रस्ताव अगाडि बढेको र आगामी दिनमा समेत त्रुटि सुधार गर्न नेतृत्व लिने निधिले बताउनुभयो । जनकपुर उपमहानगरपालिका–१० मा चुनावीसभा तथा मतदाता भेटघाट कार्यक्रममा नेता निधिले नेपाली काँग्रेस न्यून क्षतिमा अधिक उपलब्धि लिने उद्देश्यले मधेश अधिकार सम्बोधन गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको बताए ।

नेता निधिले वर्तमान संविधानले संघीयता, गणतन्त्र ल्याएको भन्दै संविधानमा हस्ताक्षर नगर्नेहरुलाई भावी पुस्ताले धिक्कार्ने निश्चित रहेको बताउनु हुँदै भन्नुभयो, “संविधान नै नभए अहिले संशोधन कहाँ हुने, यही सोचका साथ नेका संविधान जारी गर्न तयार भयो ।”

मधेश आन्दोलनको नाउँमा संगठित भएर केही दल सीमाङ्कन बिना संविधान जारी गर्न तयार भएको अवस्थामा संघीयता सहितको संविधान जारी गर्ने सर्वोच्चको तत्कालीन न्यायाधीश गिरिशचन्द्र लालद्वारा गरिएको निर्णयलाई सबभन्दा पहिला नेपाली काँग्रेसले स्वागत गरेको निधिले बताए ।

नेता निधिले जनकपुरको धार्मिक, सांस्कृतिक, आध्यात्मिक मान्यतालाई अक्षुण्ण राख्दै स्थानीयवासीको भावनाअनुसार विकास निर्माणको कार्यमा अगाडि बढाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

उहाँले विगतमा समेत जनकपुरको विकासप्रति प्रतिबद्ध रहेको बताउँदै जनकपुरलाई प्रादेशिक राजधानी र विकासको प्रमुख उद्देश्यका साथ चुनावमा उम्मेदवारी दिएको बताउनुहुँदै अगामी मंसिर २१ गते हुने निर्वाचनमा नेपाली काँग्रेसको पक्षमा मतदान गर्न सबै मतदातालाई आग्रह गरेका छन् |

यसैबीच, कार्यक्रममा राजपा, नेकपा (एमाले) र राप्रपा सहितका राजनीतिक दल परित्याग गरी करिब ७० जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

कार्यक्रममा स्थानीय देवेन्द्र यादव, सदन भगत, मनोज मिश्र, शैलेन्द्र नारायण मल्लिक, युगलकिशोर लाभ, समानुपातिक उम्मदेवार स्मृतिनारायण चौधरी, शिवचन्द्र चौधरी, मिनाक्षी झा र जगदीश महासेठ सहितका व्यक्तिहरुले सम्बोधन गरेका थिए । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.