
जनकपुरधाम, २९ कार्तिक ।
राष्टिय जनता पार्टीका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले एक जना मधेशी अधिकारका आफ्नो प्राणको आहुती दिने तर मधेशी जनताले मधेशको पक्षमा मतदान नगनुइ यसभन्दा ठूलो अपराध केही हुन नसक्ने बताउनु भएको छ ।
५ दर्जनभन्दा बढी मधेशीले मधेशलाई अधिकार सम्पन्न बनाउनकै लागि आफ्नो प्राणको आहुती दिएको स्पष्ट पार्दै महतोले मधेशवादी दलकै पक्षमा मतदान गर्न अपिल गर्नुभयो । धनुषा निर्वाचन क्षेत्र नम्बर ३बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी समेत दिनु भएका महतोले भन्नुभयो मधेश अधिकारका लागि शहादत दिएकाहरुको बलिदान बिर्सेर मधेशको पक्षमा मतदान नगर्ने मधेशीभन्दा ठूलो अपराधी कोही हुन सक्दैन ।
उहाँले मधेशी जनताकै मत लिएर मधेशी जनतामाथि नै गोली चलाउने हत्यारालाई यस पटकको निर्वाचनबाटै मधेशी जनताले सजाय दिने दावी गर्नुभयो ।
जनकपुर उपमहानगरपालिका वडा नम्बर २५ लोहनामा चुनावी सभालाई सम्बोधन गर्दै महतोले यो निर्वाचनलाई आन्दोलनकै रुपमा लिएको स्पष्ट पार्नुभयो । उहाँले हाम्रो आन्दोलन मधेश अधिकार सम्पन्न नभएसम्म जारी रह्ने दावी गर्नुभयो । मधेशी जनता अहिले अधिकार विहिज भएकोले बराबरीको हक नमिले सम्म यो लडाईलाई संसारको कुनै शक्तिले रोक्न नसक्ने महतोको भनाई रहेको थियो ।
उहाँले राजपा जिते मात्रै मधेशको जित हुने बताउँदै भन्नुभयो मधेशलाई अधिकार सम्पन्न र बराबरीको हक दिलाउन राजपालाई जिताउनुस ।
खस मानसिकता बोकेका दलहरु मधेशी जनतालाई मतदाता र करदाताको रुपमा मात्रै प्रयोग गर्दै आएको महतोले आरोप लगाउनु भयो । उहाँले भन्नुभयो मधेशी जनतालाई खसवादी सोच भएका दलहरु दूई कामका लागि मात्रै प्रयोग गर्दै आएका छन पहिलो मत लिनलाई र अर्को कर लिनलाई, अब हामीलाई अधिकारका लागि मधेशी दललाई अत्याधिक मत दिनु पर्छ ।
आफ्नो पार्टी कार्यकर्ताहरुका साथै लोहना पुगेका महतोले लोहना घरदैलो कार्यक्रम समेत गर्नु भएको छ । घरदैलो कार्यक्रममा समेत उहाँले मतदाताहरुलाई राजपाको पक्षमा मतदान गर्न आग्रह गर्नु भएको थियो ।



