
हुलाकी न्यूज, जलेश्वर । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता शरत्सिंह भण्डारीले दुई नम्बर प्रदेशमा मधेश सरकार बन्ने दाबी गरेका छन् । भण्डारीले जनताले मधेशका शहीदको सम्मानस्वरुप राजपा नेपालको गठबन्धनलाई विजयी बनाएर मधेश सरकार बनाउने विश्वास व्यक्त गरेका छन् ।
चुनावी अभियानका क्रममा महोत्तरीको औरहीस्थित आफ्नै निवास सञ्चारकर्मीहरुसँग कुरा गर्दै भण्डारीले मधेशवादी शक्ति बलियो भएर आउने दावी गरे । महोत्तरी क्षेत्र नं २ मा राजपा गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवारसमेत रहेका भण्डारीले अब बन्ने केन्द्रीय सरकार राजपा र संघीय समाजवादी फोरम नेपाल विना बन्न नसक्ने ठोकुवासमेत गरे ।
अब यो निर्वाचनपछि हरेक विभेदलाई संविधान संशोधनमार्फत अन्त्य गरिने धारणा भण्डारीले राखे । राजपाको गठबन्धन शक्तिशाली भए मधेश पनि शक्तिशाली हुने र मधेशीको प्रभाव राज्यमा बढ्ने भण्डारीले बताए ।



