
जनकपुरधाम, २५ कार्तिक ।
स्वास्थ्य प्रयोगशालाकर्मीहरुको मेडिकल ल्याबोरेटरी एशोसिएशन अफ नेपाल ‘मेलान’ को दुई नम्बर प्रदेश अध्यक्षमा सुरेश ठाकुर शर्मा चयन भएका छन् ।
शनिबार जनकपुरमा आयोजित प्रथम प्रदेश सम्मेलनबाट शर्माको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरिएको हो । प्रदेश कार्यसमितिको सचिवमा संजयकुमार मण्डल (धनुषा), सह–सचिवमा प्रदिप साह (सर्लाही), कोषाध्यक्षमा शैलेन्द्र यादव (सप्तरी) लाई चयन गरिएको केन्द्रिय उपाध्यक्ष एंव निवर्तमान प्रदेश संयोजक युगलकिशोर यादवले जनाए ।
प्रदेश कार्यसमितिको संरक्षकमा मेडिकल ल्याब टेक्नोलोजिष्ट अरुणकुमार मल्लिक र सल्लाहकारमा देवेन्द्र साह तथा विरेन्द्र झालाई चयन गरिएको छ । मेलानका केन्द्रिय अध्यक्ष कृष्णप्रसाद रिजालले मेडिकल ल्याबलाई स्तरीय र यो पेशलाई मर्यादित बनाउन सम्पूर्ण प्रयोगशालाकर्मीहरु एकजुट हुनुपर्ने आवश्यक्ता रहेको बताए ।
आवश्यक्ता अनुसार एकभन्दा बढी प्रयोगशालालाई मर्ज गरी स्तरीय सेवा सञ्चालन गर्न सुझाउँदै उनले प्रदेश सम्मेलन उद्घाटन समारोहमा भने, ‘जनकपुरजस्तो सानो ठाउँमा दुई ल्याबको के काम ? बरु, १० वटा मात्रै होस् तर, स्तरीय सेवा दिने होस् ।’
प्रयोगशालाकर्मीहरुले आफ्नो पेशाको गरिमा बढाउन पनि गुणस्तरीयमा ध्यान दिनुपर्ने उनको सुझाव थियो । समारोहमा उपस्थित जनकपुरका मेयर लालकिशोर साहले स्वास्थ्य र शिक्षा क्षेत्र स्थानीय तहको मातहतमा आएकोले अगामी दिनमा स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन गम्भिर रहेको बताए ।



