निधिलाई जनकपुरका जनताले यसपटक चुनाव हराएर ठूलो सबक सिकाउँछन् ।

जनकपुरधाम, २२ कार्तिक ।
राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका सदस्य एव्म धनुषा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभाका उम्मेद्धवार राजेन्द्र महतोले जनकपुरधामको विकासको बाधक नै नेपाली कांग्रेस र विमलेन्द्र निधि भएको आरोप लगाउनुभएको छ ।
तर यसपटकको निर्वाचनमा जनकपुरका जनताले निधिलाई हराएर सबक सिकाउने महतोको भनाई छ । आज रिपोर्टर्स क्लबले जनकपुरमा गरेको साक्षात्कारमा महतोले अहिलेको निर्वाचनलाई आफूहरुले निर्वाचनरुपी आन्दोलन कै रुपमा उपयोग गरिरहेको भन्दै यसपटक मधेसी जनताले आन्दोलनको पक्षमा मत हाल्ने दाबी गर्नुभयो । ‘जनताको मत आन्दोलनको पक्षमा आउनुपर्छ, हुनुपर्छ, महतोले भन्नुभयो—आन्दोलनमा सहभागिता भएकाहरुले मधेश आन्दोलनको विरुद्धमा लाग्ने, दमन गर्ने, मधेशी जनताको छातीमाथि गोली बर्साउनेहरुलाई हराएर पठाउनुपर्छ ।’
विगतमा भएका मधेश आन्दोलनका विरुद्ध सरकारी पक्षले बुलेटको प्रयोग गरेर जनताको अधिकार खोसेको भएपनि अहिले जनताले बुलेटभन्दा पनि तागदकारी हतियार ब्यालेट पाएकोले अब त्यसको जवाफ दिने बेला आएको नेता महतोले स्पष्ट पार्नुभयो । ‘अब ब्यालेटको उपयोग जनताले गर्नेछन् उहाँले भन्नुभयो—सरकारी शक्तिशाली हतियारभन्दा बलियो हतियार हामीसँग छ ।’
महतोले अगाडी भन्नुभयो—मधेश आन्दोलनका क्रममा सप्तरीको मलेठमा ६ जना मधेशी दाजुभाईहरुको हत्या भयो, अब त्यसको पनि हिसाबकिताब जनताले दिन्छन्, मधेशी जनताको विरुद्धमा संविधान जारी भयो, यो हामीलाई कहिल्यै स्विकार्य छैन, यो संविधानको पक्षमा आफूले पनि हस्ताक्षर गरेर अरु मधेशीलाई पनि बाध्य बनाउने कांग्रेसका शीर्ष मधेशी नेता यहीँ जनकपुरका हुन् ।’
महतोले मधेश आन्दोलनका क्रममा राज्यले मधेशीहरुको हत्या गरेकोले सरकारमा बसेर गोली चलाउने, दमन गर्नेहरुलाई अब जनताले राम्रोसँग हिसाबकिताब चुक्ता गराउने बताउनुभयो । ‘जबसम्म समग्र मधेशको विकास हुँदैन, मधेशमा कुनै न कुनै आन्दोलन भैरहन्छ, महतोले थप्नुभयो—मधेश आन्दोलनलाई समाप्त पार्नेको विरुद्धमा अब मत हालेर देखाउने बेला आएको छ, उनीहरुलाई चुनावबाटै हराएपछिमात्रै सिँगो मधेशी जनताले सफलता पाउनेछन् ।’
मधेशी जनताको आन्दोलनमाथि गोली चलाउने र दमन गर्ने मान्छे मधेशको मसिहाह हुनै नसक्ने भन्दै महतोले कांग्रेस मधेशीको भलो गर्ने पार्टी नभएको आरोप लगाउनुभयो । निधिप्रति लक्षित गर्दै महतोले भन्नुभयो—‘आन्दोलनकारीलाई गोली ठोक्नेले अहिले आएर म मधेशी जनताको पक्षमा छु भनेर भन्नु हाँस्यस्पद कुरा हो, यो कुरा जनताले अब पत्याउनेवाला छैनन, उनलाई साँच्चिकै भन्ने हो भने पनि नैतिक रुपमा मत माँग्ने अधिकार छैन ।’
जनकपुरवासीले निधिलाई पटक पटक चुनाव जिताएर पठाएपनि उहाँले जनकपुरको विकासको लागि सिन्को पनि नभाँचेको महतोको आरोप छ । ‘यो जनकपुरको अवस्था हेर्नुहोस्, निधि जहिल्यैपनि सरकारमा बस्यो, अहिले चुनावमा कुन आधारमा जनताको समर्थन लिन खोजेको हो ? मैले त बुझ्न सकेको छैन, महतोले भन्नुभयो—त्यसैले अब निधिले चुनाव जित्ने कुरा त परै जाओस्, मत माँग्ने पनि नैतिकता छैन, अब जनता विगतमा गरेको गल्ती दोहोर्याउने पक्षमा छैनन ।’
आफू उच्च प्राथमिकताका साथ जनताको माग, आग्रहलाई सम्मान गर्दै जनकपुरमा चुनाव लड्न आएको महतोले प्रष्ट पार्नुभयो । ‘सबैभन्दा बढि र ठूलो आन्दोलन यहाँ जनकपुरमा भएको छ, गोली चलाउने र जनताको विरुद्धमा संविधान बनाउने नेताले जितेर गयो भने विश्वले के भन्छ ? त्यसैले यस्तो नहोस् भनेर नै हाम्रो पार्टीले म जस्तो दह«ो र सक्षम नेतृत्वलाई उसँग लड्न पठाएको छ, महतोले भन्नुभयो—अब तपाई मधेशी जनताले भरपुर जवाफ दिनुपर्छ ।’
महतोले जनकपुरको आत्मा मिथिला भएको भन्दै यसलाई स्मार्ट सिटी र साँस्कृतिक नगरीको रुपमा विकास गर्ने आफ्नो अठोट रहेको सुनाउनुभयो । उहाँले थप्नुभयो—‘धार्मिक पर्र्यटनको विकास हुन्छ, जनकपुर भनेको नै संस्कृतिको धरोहर छ, पर्यटनको हब बनाउन सकिन्छ । जनकपुर नमुना शहर बनाउनुपर्छ, मधेशको नाक भनेको जनकपुर नै हो, प्राथमिकताका साथ विकास गर्नुपर्छ, त्यो म गर्छु ।’



