
हुलाकी न्यूज, जनकपुरधाम । सहिद दुर्गानन्द झालाई सम्झिदै राजपाका नेता राजेन्द्र महतोले चुनावी अभियानको थालनी गरेका छन् ।
प्रतिनिधि सभा निर्वाचनका लागि धनुषा क्षेत्र नम्बर तीनबाट चुनावमा उठेका महतो सहिद झाको शालिकमा माल्यापर्ण गरी चुनावी अभियान सुरु गरेका हुन् ।
महतोका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि कै गृह नगरपालिकामा रहेको उक्त स्थानबाट महतोले अभियान थालेका छन् ।
जटहीमा रहेको उक्त शालिकमा माल्यापर्ण गर्न हजारौं कार्यकर्तासहित महतो त्यस क्षेत्रमा पुगेका थिए ।
उक्त क्रममा महतोले चुनावलाई आन्दोलनकै रुपमा लिन सर्वसाधारणसँग आग्रह गरे । गैर मधेशी पार्टीहरुप्रति आक्रमक हुँदै महतोले बुलेटको जवाफ ब्यालेटले दिन सर्वसाधारणसँग आग्रह गरेका थिए ।
जटहीबाट सुरु भएको महतोको चुनावी अभियान अन्य क्षेत्रमा विस्तार हुँदै जाने जनाइएको छ ।




