आशिष गुप्ता, नेपालगन्ज १८ आश्विन । बाँकेका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखक भन्छन्, ‘भारतीय पक्षलाई पेट्रोलियम ट्यान्कर र ग्याँस बुलेट छोड्न बारम्बार आग्रह गर्दै आएका छौं तर भारतीय पक्षले सुरक्षाको कारण देखाउँदै आग्रह अस्वीकार गर्दै आएका छन् ।’
‘अचेल दिनहुँ जसो हाम्रो ध्यान यही विषयमा केन्द्रित भइरहेको छ,’ लेखकले हुलाकी न्यूजसँग भने, ‘जति अनुरोध गर्दा पनि एसएसबीले हाम्रो कुरा मान्दैनन् ।’
भारतीय पक्षले सोमबार दिउँसोसम्म कुनैपनि पेट्रोलियम ट्यांकर नछाडेको प्रजिअ लेखकले जनाए । नेपालगन्ज नाकाबाट दिउँसोसम्म तरकारी जन्य र सिमेन्टलगायत सामान ढुवानी गरेका १२ वटा मालबाहक ट्रक मात्रै भित्रिएको इप्रका जमुनाहाको रेकर्ड छ । भारतले सुरक्षको कारणले पेट्रोलियम पदार्थमा कडाइ गरेको छ ।
सिमा प्रवेश भएका अन्य मालबाहक ट्रकलाई सहज रुपमा भन्सार अनुमति दिइरहेको प्रजिअ लेखकले दाबी गरे । मालबाहक ट्रक र कन्टेनर सिमा नजिकै लामवद्ध छन् भने पेट्रोलियम ट्यांकर र ग्याँस बुलेटको लाइन सबैभन्दा पछाडी (रुपेडिहा बजारदेखि करिव ४ किलोमिटर टाढा) केवलपुर र जैतापुर गाउँमा छन् ।
इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी नायव निरिक्षक विष्णु गिरी नाकाबन्दी सुरु भएयता दिनहुँ सिमापारीका समकक्षी कहाँ धाइरहेका छन् । भारतीय भूमिमा रोकिएका पेट्रोलियम ट्यांकर र ग्याँस बुलेटलाई सिमा प्रवेश गराउने भेटघाटको उनको उद्देश्य हो ।
यस्तै बिगत लामो समयदेखि मधेशका जायज माँग तथा मुद्दा संविधानमा संबोधन गराउने उद्देश्यले आनदोलनरत मधेशी मोर्चाले अब तत्काल मधेशका सम्पूर्ण माँग राज्यले पुरा गरेन भने नाका तथा राजमार्ग पूर्णरुपले अवरुद्ध गर्ने मोर्चाका प्रवक्ता पशुपति दयाल मिश्राले चेतवनी दिए ।




