कारी महतो

जितिया पर्व थारु महिलाहरुको एउटा महान सांस्कृतिक पर्व हो । यो पर्व थारु बाहेक तराईमा बसोबास गर्ने मधेसी महिलाहरुले पनि धूमधामसंग मनाउछन् । महिलाहरु संगसंगै पुरुषहरु पनि सक्रिय हुनुपर्ने भएकोले यस पर्वलाई महिलाहरुको मात्र नभई महिलापुरुष सबैको साझा पर्व भन्न सकिन्छ ।

जितिया पर्व ठाउ अनुसार केही फरक तरिकाले मनाईन्छ । पूर्वी तराईमा विवाहित महिलाहरु मात्र ब्रत बस्छन् । तर चितवन र यस आसपासका जिल्लाहरुमा विवाहित र अविवाहित सबैले समान रुपमा ब्रत बस्दछन् । यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिन मनाईन्छ । सप्तमीको दिनलाई लाहा खाएके, अष्टमीको दिनलाई उपास र नवमीको दिनलाई पारन भनिन्छ । जितिया ब्रत दुई किसिमको हुन्छ साधारण र खर जितिया । सप्तमीको बिहान ब्रतालुहरु नजिकको खोलानदीमा गई तोरीको पिना प्रयोग गरी नुहाउछन् । नुहाइसकेपछि अलिकति तोरीको पिना घिरौलाको पातमा राखेर खोलामा बगाउने चलन छ । तर अचेल घिरौलाको पातको सट्टा कर्कलाको पात पनि प्रयोग गरिन्छ ।

जितिया ब्रत कथा अनुसार चील्हो, सियरो नाम गरेका चील र स्याल जस्ता जनावरहरु पनि जितिया ब्रत बस्ने भएकोले ती जनावरहरुका निम्ति पातमा राखी पिना बगाउने गरिएको हो । त्यस दिनभरि चोखो बसी बेलुका फेरि खोलामा गई नुहाउछन् । सोही राती कुखुरा नबास्दै डट्खट वा दर खाने गर्दछन् । खर जितिया ब्रतमा डट्खट खाइदैन । दर खाईसकेपछि ब्रतालुहरु जाग्राम बस्नुपर्दछ । उनीहरुले प्रत्येक घरबाट गीत गाउने महिला र पुरुषहरुलाई ब्युझाएर गाउको एकै ठाउमा भेला गराउछन् । ती रौराहर (गवैया) महिला पुरुषहरुले त्यसबेला गाउने गीतलाई बदहा गीत भनिन्छ । बदहा गीत भोलिपल्ट अर्थात अष्टमीको बिहानसम्म गाउने चलन छ । बिहान सबेरै ब्रतालुहरु सबैजना खोलानदीमा गई स्नान गर्छन् र अघिल्लो दिनझै पातमा पिना राखी बगाउछन् । स्नान गरेर फर्केपछि सबैजना भेला भई बेलको पात टिप्न जान्छन् । त्यसलाई बेलपाती लोर्हे जाई भनिन्छ । ब्रतालुहरुसगै गवैया महिला पुरुषहरु पनि जान्छन् । बेलको रुखको चारैतिर ब्रतालुहरु झमटा नृत्य र गीत प्रस्तुत गर्दछन् । त्यसबेला गाउने गीतलाई फुला लोर्होनी गीत भनिन्छ । गीत समाप्त भैसकेपछि मात्र ब्रतालुहरुले बेलको पात टिप्छन् । बेलको पात घरमा ल्याइसकेपछि उनीहरुले एक दुई माना जति मास भिजाएर राख्छन् । त्यस दिन ब्रतालुहरुले पानी पनि नखाई उपवास बस्छन् । त्यसदिन महिलाहरु नया सांस्कृतिक भेषभूषा लगाई दिनभरि नै झमटा नृत्यमा झुमेर रम्छन् ।

Kari Mahato
कारी महतो

उपाबासको बेलुकीपख करीब तीनचार बजेतिर ब्रतालुहरु फेरि खोलामा गई पिनाले नुहाई पातमा अलिकति पिना बगाउछन् । त्यसपछि घरमा आई नया नया पहिरनमा जम्मा भई पाकडी वा पीपलको बोटमूनि झम्टा नृत्यमा झूम्छन् । गवैया महिला पुरुषहरु पनि त्यहा जम्मा भई गीत गाउछन् । त्यसबेला गाउने गीतलाई डार कटोनी गीत भनिन्छ । उता केटाहरु रुखमाथि चढेर रुखको हागा काट्न तम्तयार हुन्छन् र गीत सकिएपछि एउटा सानो हागा काटेर झारीदिन्छन् । ब्रतालुहरुले त्यस हागालाई भूईमा नखसालाी कथा सुन्ने ठाउमा लिएर जानु पर्ने हुन्छ । तर बाटोमा केटाहरुले एउटा मोटो रस्सी तेस्र्याएर बाटो छेक्छन् । गवैयाहरुले सुरिलो स्वरमा गीत सुनाएपछि बल्ल बाटो छोड्छन् । त्यसबेला गाउने गीतलाई डगरोट गीत भनिन्छ ।

कथा सुन्ने ठाउमा त्यो हागा गाडेर सानो रुख बनाइन्छ । रुखमा चीलको गुड पनि बनाइन्छ । त्यस रुखको चारैतिर ब्रतालु महिलाहरु फलफुल, पानी, दूध, दहि साथै बिहान भिजाएको मास र चामल लिएर बस्छन् । गाउको कुनै एक भद्र पुरुषले जितिया ब्रत कथा घण्टौं लगाएर सुनाउछ । कथा सकिएपछि सबै जना घर गएर फलाहार गर्छन् । त्यसलाई फराहर भन्छन् । भोलिपल्ट अर्थात् नवमीको दिन सबेरै सबै ब्रतालु फेरि खोलामा नुहाएर खोलाको किनारमा निराकार प्रतिमूर्ति (जसलाई थारु भाषामा गरग्वाङ भनिन्छ), बनाएर मासको गेडाले पूजा गर्छन् । मासको गेडा केहि दिनपछि त्यस गरग्वाङ मा राम्ररी उम्रिएमा त्यस ब्रतालुको सन्तान सुखको राम्रो लक्षण मानिन्छ । खोलाबाट घर आइसके पछि ब्रतालुहरु दहि चिउरा, केरा लगायतका खानेकुरा खान बस्छन् तर खानु भन्दा अगाडि गुइठाको अङ्गारमा काठको धुप बाली सबै खानकीको केही अंश चढाएर मात्र खान्छन् । त्यसलाई पारन भनिन्छ । त्यसपछि भने ब्रत सकिन्छ र ब्रत सकिएपछि अन्य परिकार माछा, मासु लगायत खान्छन् । पारन गरिसके पछि बाकी रहेको भिजाएको मास भुटेर खान्छन् । त्यसदिन पनि दिनभरी झम्टा गीत र नृत्य गरिन्छ साथै सबैको घरबाट केरा, चिउरा, फलफूल बटुलेर कथा भन्ने मान्छे र पीपलको हागा काट्ने केटाहरुलाई दिन्छन् । यसरी जितिया पर्व सकिन्छ ।

जितिया ब्रतको कथासारः

जितिया ब्रत कथालाई जितबाहनको कथा पनि भनिन्छ । यो कथा परापूर्वकालदेखि प्रत्येक बर्ष जितियामा ब्रत बस्ने महिलाहरुले अनिवार्य सुन्नै पर्ने हुन्छ । यो कथा नसुन्ने ब्रतालुहरुको ब्रत अपुरो भएको मानिन्छ । वास्तवमा, यो कथा एउटा पौराणिक तथा नैतिक कथा हो । यसले ब्रतालुहरुलाई अनुशासित र कर्तव्यपरायण बनाउनमा निकै महत्वपूर्ण भूमिका खेल्छ । यो कथाको पुरा अंश भन्न सात आठ घण्टा लाग्छ तर अचेल एक दुई घण्टामै पनि सिध्याइन्छ । कथालाई मुख्य दुई खण्मा ब्याख्या गरिन्छ । ती दुई खण्डमा पनि अन्य सहायक खण्डहरु छन् । यहा पहिलो खण्डको मात्र सारांश उल्लेख गरिएको छ ।

कथा अनुसार एउटा छुट्टै संसारमा छुट्टै राज्यको उदय हुन्छ जहा दुई वर्गको पनि अस्तित्व हुन्छ । एउट वर्ग राजखान्दान र अर्को रैति । सोहि राज्यमा एउटा अविवाहित बुढीकन्याले कुनै पुरुषको संसर्ग विना नै एउटा छोराको जन्म दिन्छ । उमेर पाको भएकोले सबैले ती कन्यालाई मस्वासी बुढीया भन्थे र उनको छोरोलाई मस्वासी बुढीयाको छोरा । बुवाको कुनै अत्तोपत्तो नभएकोले छोराको नामाकरण नै भएन । आमाले छोरालाई बबुवा भनी सम्बोधन गर्थे । हुर्किदै बढ्दै जाने क्रममा त्यो बालक अति नै तीक्ष्ण बुद्धि भएको र निकै प्रतिभावान बन्दै गए । जुनसुकै खेलकुदमा उसलाई हराउन सक्ने कोही पनि भएन ।

राजखन्दानका बालकहरुसग खेल्ने क्रममा पनि सबैलाई जित्दै जान्थे । हारेको रिस पोख्ने क्रममा ती राजखान्दानका बालकहरुले उनलाई निकै पिट्थे । तर एकदिन पिटाइसगै गाली गरे । उनलाई भनिएको थियो बिना बाउको छोरो । त्यो बचन बाणको शब्दले उनी निकै रोए । ऊ सधंै झंै रुदै घर आउथे तर त्यस दिन आमाबाट आफ्नो बाबाको बारेमा जान्ने अडान लिन्छ । केही सीप नलागी आमाले बाध्य भएर आफ्नो जीवनमा घटेको घटनाको वृतान्त सुनाउछिन् । वास्तवमा उक्त गरीब बुढी एक्लै बस्थे । एकदिन राजपरिवारका सदस्यको क्रियाक्रमका लागि बुढीलाई पनि रक्सी बनाउन धान ल्याइ दिएका हुन्थे । तर वर्षात को मौसमका कारण धेरै दिन झरी बादल लागेर धान सुकाउन नपाएकोले बुढीले भगवानको जप गर्दै जसरी भए पनि धान सुकाउने व्यवस्था मिलाई दिन प्रार्थना गरिन् र आफ्नो भाकल पूरा भए पछि आफूले भगवानले चाहेको कुरा अर्पण गर्ने भाकल गरिन् । भाकल पुरा भएपछि बुढिले आफ्नो बाचा बिर्सिइन् जसले गर्दा भगवानले श्राप दिदै घरको करेसाबारीमा पिसाब फेरिदिए ।

Jitiya-tharu

पिसाबबाट हरियो लहलहाउदो साग उब्जियो तर श्रापको कारणले वरिपरिका सबै तरकारीका बोट सुकेर गए । तरकारीको अनिकालमा बुढिले भगवानले पिसाब फेरेको ठाउमा उम्रेको साग पकाएर खाएपछि सोही दिन देखि गर्भवती भएको सबै कहानी बुढिले आफ्ना छोरालाई बताउदै बाबु तिम्रो बाबा स्वयम् भगवान नै हुन् भनी आश्वस्त पारिन् । अब भने छोराको मन शान्त त भयो तर छोराको अर्को अडान बुढीआमाले थेग्न सकेन । वास्तवमा छोराले लिएको अडान थियो बाबाको खोजी गरेर आफ्नो नामाकरण गराउने ।

केही सीप नलागी बुढी आमाले आफ्नो एक्लो सहारा आफूबाट टाढा पठाउन बाध्य भईन । त्यो केटो बर्षौ सम्म बाबाको खोजीमा भौतारिदै गए र त्यस क्रममा उनले थुप्रै थुप्रै दुःख र पीडामा बाचीरहेका मानव र पशुपंक्षीहरुलाई भेटे र सबैको आग्रह बमोजिम उनीहरुको दुखको कारण र त्यसबाट मुक्त हुने उपाय पनि भगवानबाट पत्ता लगाउने आश्वासन दिदैं गए । कठोर यात्रा पछि उनी त्यस्तो ठाउमा पुगे जहा समुद्र पार गर्न सकेको खण्डमा आकाशको र धर्तीको मिलन हुने क्षितिज फेला पर्छ । त्यसै ठाउबाट आकाश मार्ग भएर उनले भगवानलाई भेट्न सफल भए । उनी देवी देवताको रथ गुड्ने बाटोमा कुरेर बसे । त्यस बाटो भएर गुड्ने सबै रथ रोक्दै भगवान को हो ? भनी सोध्थे । देवी देवताको रथ रोक्न सक्ने बालक कुनै साधारण बालक हुनै नसक्ने अड्कलकासाथ सबैले भगवानकै छोरा भनी परिचय पाउथे ।

अन्तमा त्यो बालकले भगवानको पनि रथ रोकी दिन्छ । भगवान पनि अचम्ममा पर्दै को हौ तिमी भनी सोधे । बालकले आमाको सबै कथा सुनाएर उनकै छोरा भएको पुष्टि गरेपछि भगवानले पनि आफ्नै छोरा स्वीकार गरी काखमा राखी मुख्य उद्देश्यको बारेमा सोध्छन् । आफ्नो छोरा पहिचानको लागि यति संघर्ष गरी भेट्न आएको थाहा पाई नामाकरण गरी पहिचान दिन्छन् आजै देखि तिम्रो नाम जितबाहन भयो, संसारका सबै प्राणी जगतले तिम्रो नाममा ब्रत बस्नेछ । त्यति मात्र नभई बालकले यात्राको क्रममा भेटिएका सम्र्पूण पिडित र दुखीहरुको रहस्य पनि भगवानबाट थाहा पाए अनि त्यसबाट छुटकारा दिलाउने उपाय पनि आशिर्वाद स्वरुप पाए । फर्किने क्रममा पहिले आफूले भेटेका सबै दुखी प्राणीहरुलाई उनीहरुका दुखका रहस्य र मुक्तिको उपाय भन्दै गए । वास्तवमा ती दुखीहरुको दुखको कारण उनीहरुको पूर्वजन्मको फल नभई यहि जन्ममा गरेको कुकर्मको फल हो भनी बताउदै फर्के ।

उनले दिएका ज्ञानगुनका उपदेशहरु यसप्रकारका छन् आफ्नो व्यक्तिगत मात्र नभई अरुको सरसफाइमा पनि ध्यान दिनुपर्ने, वातावरण सरसफाइमा ध्यान दिनुपर्ने, पाहुनाहरुको सत्कार गर्नुपर्ने, अरुको बालीनाली मास्न नहुने, बाटोघाटो मास्न नहुने, आफ्नै खाद्यान्नमा चित्त बुझाउनु पर्ने, आफूले जानेका ज्ञानगुनका कुराहरु अरुलाई सिकाउनु पर्ने, छोराछोरीको विवाह समयमै गरिदिनु पर्ने इत्यादि हरेक उपदेशको छुट्टाछुट्टै पट्कथाहरु पनि जितियाको कथाको यस खण्डमा रोचक तरीकाले बयान गरिन्छ ।

वर्तमान समयमा कथाको सान्दर्भिकताः

थारु समुदायमा जितियाको ब्रत बसेका ब्रतालुहरुले सुन्ने जितबाहनको कथा निकै महत्वपूर्ण मानिन्छ । निष्ठापूर्वक ब्रत बसी बेलुकाको समयमा जितबाहनको कथा सुन्ने महिलाहरु जीवनभरी नै अनुशासित हुन्छन् । महिलाहरुलाई मात्र नभई पुरुष वर्गलाई पनि कथाले विभिन्न व्यवहारिक ज्ञान सिकाउछ र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउनका लागि कथाले महत्वपूर्ण भूमिका खेल्दछ । बाबाआमाले आफ्ना छोराछोरीले बिराएको समयमा तिमीले जितियाको कथा सुनेनौं ? भनी झक्झकाउने गर्दछन् ।
वर्तमान समयमा नैतिकताको खडेरी पर्न थालेको बेलामा थारु लगायत जितिया पर्व मनाउने सबै समुदायलाई जितियाको या जितबाहनको कथाको माध्यमबाट नैतिकवान बनाउन सकिन्छ । पहिचानको वकालत गर्नेहरुले समेत जितबाहनले चाहेकै जस्तो पहिचान खोजीरहेका प्रसंग पनि मिल्छ । कथाअनुसार आफ्नो नाम या पहिचानका लागि भगवानलाई भेट्न हिडेको केटोले आफ्नो नामाकरण मात्र चाहेको भए उसले बाटोमा भेटेका दुःखीहरुको पीडालाई कम गर्न सक्ने थिएन । तर उनले पाएको अधिकार सहितको पहिचानले सबैको दुःख पीडाबाट मुक्तिको मार्ग पहिल्याउन सफल भए ।

देशको वर्तमान परिस्थितिमा पहिचान पक्षधरले चाहेको पहिचान पनि यस्तै खालको अर्थात् सबै वर्ग, जाति, लिंग, धर्म, क्षेत्रको पीडा कम गर्न सक्ने खालको पहिचान हो । यसकारण पनि जितबाहनको कथा एउटा पौराणिक कथा भएता पनि समय सान्दर्भिक रहेको देखिन्छ ।

लेखक थारु पत्रकार संघका अध्यक्ष हुन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.