गीता चौधरी थारु

विगत वर्षमा यो सप्ताह पूरा जितियाको तयारीमा बिताइन्थ्यो। जितियाको गीत गुनगुनाइन्थ्यो। तर यस वर्ष जितिया मनाउने उल्लास र उमंगले छोएको छैन। झण्डै २ महिना पुग्न लागेको तराई मधेस आन्दोलनको रापमा जलिरहेको छ। पूरा तराई मधेस युद्ध मैदान भएको छ। राज्य पक्षले बिदूर नीति अपनाउनुको सट्टा वार्ताको नाम पुत्र मोहमा परेको धृतराष्ट्रजस्तै थारुलाई भुलाउने काम मात्र गरेको देखिन्छ।

भर्खरै तराईबाट फर्केको, राजधानीमा जितिया पर्वको तयारी भैरहेको देखेर एक पल त खुसी भएँ, तर सोच्न बाध्य भएँ। यसपल्टको जितिया पर्व थारु महिला समाज र थारु महिला सभाले संयुक्तरुपमा मनाइरहेको छ। यसले राम्रै सन्देश छोड्छ। थारु महिला समाजको अध्यक्ष सरस्वती चौधरी थरुहट/थारुवान संयुक्त संघर्ष समितिको सचिवालय सदस्यमा हुनुहुन्छ। थारु महिला सभा थारु कल्याण कारिणीको भगिनी संस्था हो। समाज र सभा प्रत्यक्ष रुपमा पहिचानसहितको अधिकारको आन्दोलनमा सहभागी छ। अहिले दुबै संस्था जितिया पर्व तयारीमा जुटेको खण्डमा दुबै संस्थाको दायित्व आफ्नो संस्कृतिसँगै थरुहट आन्दोलनलाई निर्णायाक बनाउनु पनि हो।

Geeta-Chaudhary
गीता चौधरी थारु

टीकापुर घटनाको दोषी देखाउँदै थाकसको अध्यक्ष धनिराम चौधरीलगायत ५८ जना थारुमाथि ज्यान मुद्दा लागेको छ। उहाँ अर्ध भूमिगत अवस्थामा हुनुहुन्छ। आन्दोलनको संयोजकको हैसियतले सम्पूर्णरुपमा आन्दोलनलाई सार्थकता दिन नसक्नुभएको अवस्था छ। टीकापुर घटनाको प्रकृति हेर्दा राज्य पक्षले आफैँ घटाएको देखिन्छ। तर आरोप भने सोझासाझा थारुलाई लगाइएको छ। युवाविहीन भएका थारु गाउँमा महिलामाथि सेनाको दुर्वयवहारले राज्यको छबी उदाङ्गो भएको छ। आयोजक कमिटी यसलाई गम्भिररुपमा लिएर पर्वसँगै आन्दोलनको रुपमा मनाउँदा आन्दोलनलाई बल पुग्थ्यो।

मध्य पूर्वी तराईमा बसोबास गर्ने समुदायका महिलाले मनाउने जितिया पर्व महान चाडका रुपमा मनाउने गरिन्छ। यो पर्व महिलाहरु आफ्नो सन्तान तेजस्वी, पराक्रमी, महान तथा स्वास्थ्य दीर्घायू र प्रगति उन्नतिको लागि चौबिसै घण्टा निरहार पानीको थोपा पनि नखाई ब्रत बस्छन्। पारण उपवास खोल्ने समय पात्रोमा ब्रतको भोलिपल्ट बेलुका छ भने बेलुका मात्र पारण गर्छन्।

दन्त कथाअनुसार जितिया ब्रत बसेको चिल र स्यालमध्ये स्यालले भोक र प्यास सहन नसकेर मासु खाइदिएकाले उसको सन्तान जति जन्मे पनि सबै मर्दै जाने र चिलको भने बाचेका हुन्छन्। यही धार्मिक कथाअनुसार आज पनि निराहार ब्रत बसिन्छ। तराईमा जितिया पर्व सबैले मनाउने भए पनि यो आदिवासी थारु जातिको प्रमुख चाड हो। ब्रत अवधि सालै पिच्छे फरक हुने गर्छ। एक दिन एक रातको साथै भोलिपल्ट पारण अथवा ब्रत अन्त्य गर्न समयको साइत फरक हुने भएकाले यसले ब्रतालुहरुको समय लम्बिन्छ। निराहार ब्रत बस्नुपर्ने भएकाले हिजोआज आधुनिक तथा कामकाजी महिलाको रुचि कम हुँदै गएपनि जितमहान प्रतिको आस्था र विश्वास घटेको पाइँदैन।

जितिया पर्व आश्विन कृष्ण पक्ष अष्टमीको दिन मनाइन्छ। यस पर्वमा सूर्य पुत्र जितमहान् भगवानको पूजा गरिन्छ। जितमहान पराक्रमी र तेजस्वी थिए। सन्तान पनि जितमहान् जस्तै पराक्रमी र तेजस्वी बन्ने धार्मिक विश्वासले निराहार ब्रत बसी जितमहान्को पूजा गरिन्छ।

यो पर्व तीन दिनसम्म मनाउने प्रचलन छ। पहिलो दिन जसलाई नहाई खाई भनिन्छ नदी वा पोखरीको घाटमा गएर पिना तेल र माटोले नुहाउने गरिन्छ। त्यस दिन बिशेष पकवानहरु खाने गरिन्छ। दोस्रो दिन सुरु हुनु अघिल्लो रात घरका सदस्यहरु ओटघन (दर) खानलाई जाग्राम बसेका हुन्छन्। यो पर्व तराइबासी महिलाको तीज हो। तीजमा जसरी माइत गएर श्रीमान्को दीघार्यु र सुस्वास्थ्यको लागी निरहार ब्रत बसिन्छ। यो ब्रत बस्नाले सन्तान माथि आइ लाग्ने बिपत्ति र ग्रहदसा नाश हुने जनबिश्वास छ।

यो पर्वको रोचक पक्ष भनेको जितियाको ब्रत बस्न चाहने महिलाहरुले जहिले मन लाग्यो उहिले सुरु गर्न पाउदैनन्। जुन वर्ष खरबार शनिबार, आइतबार को दिन पर्छ। त्यही वर्षबाट मात्र ब्रत सुरु गर्नुपर्छ। यसका लागी दिदीबहिनीहरुलाई माइती पक्षबाट लिन आउने चलन छ। घर छिमेकका सबै साथी संगी माइती आउने हुनाले वातावरण नै उल्लासमय हुन्छ।

jitiya-2070-2

 

पर्वको दोस्रो दिन बिहानै नुहाएर पूजाको तयारी गरिन्छ। डालामा अक्षता, फलफूल, र्ककला, घिरौला, तुलसी र पानको पात जस्ता सामाग्री जोरजाम गरी सूर्य उपासना गर्दै बिधिपूर्वक ब्रत बसिन्छ। ब्रतालुहरु पूर्ण श्रद्धा र भक्तिले भगवान् जितमहानको पुजा गर्दै दिनभर नाचगान र रमाइलो गर्छन्, पर्वको अन्तमा तेस्रो दिन बिहानै स्नान गरेर सूर्यलाई अर्घ दिँदै घिरौलाको पातमा फूल दही, च्यूरा र सख्खर चढाएर पाँच पाँच वटा चामल र केराउ“को दानास“ग निल्ने गरिन्छ यी पवित्र सामाग्रीलाई पछि प्रसादको रुपमा घरका सबै सदस्यलाई बाडिन्छ यो पर्वले महान चाड दशैको आगमनको संकेत गर्दै आजको आधुनिक महिला पनि जितिया पर्वमा छमछमी नाच्दै आफ्नो संस्कृती र परम्परालाई जिवीत राख्नु पर्ने टड्कारो देखिएकोछ तर देश बिषम परिस्थितिबाट गुज्रिरहेको छ। राज्य श्वेत आतंकमा उत्रेकोछ। यस्तो असहज परिस्थितमा थारु समुदायले आफ्नो परम्परा पनि जोगाउनु पर्ने छ र आन्दोलनलाई पनि सफल पार्नु पर्ने छ। त्यसैले यस वर्षको जितिया पर्वलाई आन्दोलनकै एक स्वरुपमा मनाउनु पर्ने देखिएको छ।

जितियामा अरु वर्षको जस्तो भव्य नाचगान नगरी क्रान्तिकारी र संघियताका गितहरु बजाउनुका साथै जितिया पर्वमा उपस्थित सबै जना विरोधको संकेत कालो पट्टी बाँधेर उपस्थित हुने। राज्यको ज्यादतस, बर्बरतापूर्ण दमन, विभेद् र मानवअधिकार हननका घटनाहरु उजागर गर्ने। पुर्वदेखी पश्चिम सम्मको थारु, मधेसी उत्पिडनमा परेका सबै जातजाति एक हौँ भन्दै सन्देश मुलक दृश्यहरु देखाउँदै जितिया मनाउँदा संस्कृति पनि जोगिने र आन्दोलनलाई पनि थप बल पुग्न सक्थ्यो। -थारुवानडटकम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.