हुलाकी न्यूज, काठमाण्डौ । आज सरकारले नयाँ मुख्यसचिव नियुक्त गरेको छ । आज बसेको मन्त्रीपरिषद बैठकले गृह सचिव लोकदर्शन रेग्मीलाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
अहिलेका मुख्यसचिवको रुपमा रहेका राजेन्द्रकिशोर क्षेत्री मंगलबारदेखि उमेरहदका कारण अवकाश पाउँदै छन् । तत्कालीन मुख्यसचिव सोमलाल सुवेदी एसियाली विकास बैंकमा जागिर खान राजीनामा दिएर हिँडेपछि क्षेत्री २९ असारमा मुख्य सचिव बन्ने अवसर पाएका थिए ।
प्राधिकरणका नयाँ सीईओ
त्यस्तै, मन्त्रिपरिषद् बैठकले पुनर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुख (सीईओ)मा पूर्वसचिव युवराज भुसाल नियुक्त गरेको छ । सीईओ गोविन्दराज पोखरेलले दिएको राजीनामा स्वीकृत गरेको छ । पोखरेलले शनिबार मात्र राजीनामा दिएका थिए ।
भुसाल कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका सम्धी हुन् । रामचन्द्र पौडेलका सम्धी रहेका भुसाल यसअघि पनि पटक–पटक सरकारी लाभको पदमा रहेका थिए । अर्थ मन्त्रालयमा सचिव समेत भएका भुसालले राजनीतिक नियुक्ति पाएको यो तेस्रो पटक हो। उनी खानेपानी संस्थानका अध्यक्षमा समेत नियुक्त भएका थिए।
साथै मन्त्रिपरिषद्ले सामान्य प्रशासन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई गृहसचिवमा सरुवा गरेको छ। सामान्य प्रशासन मन्त्रालयको सचिवमा हेटौंडाका क्षेत्रीय प्रशासक रेश्मीराज पाण्डेलाई सरुवा गरेको सूचना तथा सञ्चार मन्त्री मोहन बस्नेतले जानकारी दिए।



