
हुलाकी न्यूज, काठमाडौं । नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच टिकापुर घटनासहित मधेश–थरुहट आन्दोलनका आरोपितहरुलाई छोड्ने सहमतिसहित पार्टी एकीकरण भएको छ ।
सोमबार कांग्रेस र फोरम लोकतान्त्रिकबीच पार्टी एकीकरणका लागि भएको सहमति पत्रमा मधेश थरुहट आन्दोलनका आरोपितहरु राजनीतिक बन्दी भएको उल्लेख गर्दै रिहा गर्ने सहमति भएको छ ।
सहमति पत्रमा भनिएको छ,‘थरुहट र मधेश आन्दोलनको सिलसिलामा गिरफ्तार भएका व्यक्तिहरुको मुद्दा राजीतिक हो भन्ने कांग्रेसले मानी आएको छ । तसर्थ, यस क्रममा बन्दी हुनुभएका निर्दोष नागरिकहरुको मुद्दा फिर्ता गरी रिहाई गर्न सरकारसँग आवश्यक पहल गर्न हामी दुवै दल सहमत छौं ।’ यस सहमति पत्रमा प्रधानमन्त्री शेरबहादुर देउवाले स्वयम् हस्ताक्षर गर्नु गरेका छन् ।
हुलाकी न्यूजसँग कुराकानी गर्दै गच्छदारले भने,‘थरुहट–मधेश आन्दोलनका सबै आरोपीहरुलाई छोडाउँछौं । सबै राजनीतिक बन्दीहरु हुन् । टिकापुर आन्दोलनका आरोपीहरु पनि छोडिन्छ । मैले प्रधानमन्त्रीसँग यस विषयमा विशेष छलफल गरेको छु ।’
गच्छदार कांग्रेसमा फर्किएसँगै पार्टी उपसभापति हुने भएका छन् । गच्छदारको निजि सचिवालयले दिएको जानकारी अनुसार गच्छदार कांग्रेसको उपसभापति हुने निश्चित भएपछि पार्टी एकीकरण भएको हो । केही दिन मै गच्छदारले मन्त्रालय पनि परिवर्तन गर्ने स्रोतले जनाएको छ ।
यता गच्छदारले कांग्रेसमा पार्टी विलय गराएको भन्दै केही नेताहरुले नेपाल लोकतान्त्रिक फोरम पुर्नगठन गर्ने तयारी गरेका छन् ।



