हुलाकी न्युज, सिरहा । सिरहामा एक युबकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहाको कर्जन्हा नगरपालिका वडा नं १० प्रयागपुर बस्ने काशिलाल साहको ३५ बर्षिय छोरा शशिभूषण प्रसाद साहको घरमा सुतिरहेको अवस्थामा घाँटी रेटेर अज्ञात समूहले हत्या गरेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक गजुसिद्धि बज्राचार्यले बताए ।अज्ञात समूहले धारिलो हतियार प्रहार गरी घाँटी रेटेर साहको हत्या गरेका प्रहरी नायब उपरिक्षक बज्राचार्यले बताए । अपराधीको खोजी भइरहेको समेत उनले दाबी गरे । हत्या गरेको आशंकामा एक जनालाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । साहको हत्याले गाउँ शोकमग्न भएको छ । साहको श्रीमति, २ बटा छोरा र २ छोरी रहेको छ ।
मृतक साहका पत्नी संजिला साह स्थानीय तह निर्वाचनमा एमाले तर्फवाट महिला सदस्यमा उम्मेदवार बनेका थिए । निर्वाचनको एक महिना पहिले माओवादी कार्यकर्ताले साहलाई कुटपिट गरेको थियो ।
कुटपिट सम्बन्धमा प्रहरीमा उजुरी दर्ता गरिएको थियो । मृतक साह गत असारमा खरखजाना मुद्दामा जेल परेर छुटेका थिए ।
साहको शव पोष्टमार्टमका लागि रामकुमार शारदा उमाप्रसाद मुरारका स्मारक अस्पताल लहानमा राखिएको छ । साह एमालेको स्थानिय कार्यकर्ता रहेको बुझिएको छ । सभार: समग्रसंदेश





