आशिष गुप्ता, नेपालगञ्ज १६ असोज । बन्द गरिएको नाकाहरुमा सुरक्षा निकायले दमनको प्रयास गरेपछि मधेशीहरु आक्रमक भएका छन् । उनीहरुले अव अन्तिम लडाइका लागि भित्रका राजमार्गहरु पनि बन्द गर्ने चेतावनी दिएका छन् ।
बिगत ९ दिनदेखि शान्तिपूर्णरुपमा नाका तथा राजमार्ग केन्द्रित आन्दोलन गर्दा पनि प्रहरी प्रशासनले आन्दोलन बिथोल्नुका साथै दमन गर्नेलगायतका कार्य दिनप्रति दिन गर्दै आएको मोर्चाका नेताहरुले हुलाकी न्यूजलाई बताएका छन् ।
मोर्चाका प्रवक्ता पशुपति दयाल मिश्रले हुलाकी न्यूजसँग भने, ‘बिगत लामो समयदेखि मधेशका माग र मुद्दालाई तीन पार्टीले नजरअन्दाज गर्दै आएको छ । तत्काल संविधान संसोधनमार्फत मधेशका माग पुरा भएनभने सम्पूर्ण सडक तथा मार्गहरु जाम गरेर कडारुपमा प्रस्तुत हुनेछौं ।’
राज्यले बिगतमा मधेशी मोर्चासंग गरेको सहमति विपरीत संविधान ल्याउनाले यो आन्दोलनको आवस्था सिर्जना भएको दाबी गर्दै मिश्रले राज्यले मधेशी मोर्चासंग बिगतमा गरेका सहमति चाङ्ग लागि सकेकाले अव कार्यन्वयनको पालो रहेको बताए ।
मोर्चाका सहसंयोजक रामकुमार दिक्षितले भने, ‘हामी मधेशी दलका नेताहरुले नै नाका तथा राजमार्ग बन्द गरि रहेको छन् । जबसम्म हाम्रा माग पुरा हुदैन तबसम्म नाका तथा राजमार्ग केद्रित भएर आन्दोलन गरि रहन्छौ ।’
मधेशी मार्चाको आन्दोलनलाई बिफल गर्न बाँकेको प्रहरी प्रशासनले सीमा ब्यापकरुपमा प्रहरीहरु परिचालन गरेको मोर्चाले आरोप लगाएको छ । यता प्रशासनका अनुसार सुरक्षाको दृष्टिकोणले प्रहरी परिचालन गरिएको हो ।



