
हुलाकी न्यूज, दोहा (कतार) । विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) कतारले तेस्रो अन्तर्राष्ट्रिय धोती कुर्ता सम्मेलन सम्पन्न गरेको छ ।
वैदेशिक रोजगारमा रहेका मधेशीहरुले कतारस्थित दोहामा जम्मा भएर अन्तर्राष्ट्रिय धोती कुर्ता सम्मेलन गरेको हो ।
यसअघि दुई पटक एनआरएमएले धोती कुर्ता सम्मेलन गरिसकेको छ ।
गत विहीबार राती कतारको विभिन्न क्षेत्रमा रहेका मधेशीहरु जम्मा भएर धोती कुर्ता सम्मेलन गरेको एनआरएमएले जनाएको छ । उक्त सम्मेलनमा सयौंभन्दा बढी मधेशीहरु मधेशी पहिरण धोती कुर्तामा जम्मा भएका थिए ।
सम्मेलनमा सहभागी मधेशीहरुले मधेशको विकास तथा सांस्कृतिक पहिचानका विषयमा समेत चर्चा गरेका थिए ।
कार्यक्रमको अवसरमा हुलाकी न्यूजसँग कुराकानी गर्दै एनआएएमए अन्तर्राष्ट्रिय समितिका अध्यक्ष बशन्त कुशवाहाले गैर आवासीय मधेशी संघ मधेशीको पहिचान र संस्कृति विस्तारमा समेत लागेको बताए । उनले विश्वभरी छरिएर रहेका मधेशीहरुलाई एक सुत्रमा बाँधी मधेशको विकासका लागि एनआरएमएले काम गरिरहेको बताए ।




