
हुलाकी न्यूज, काठमाडौं । नेपाली कांग्रेससहितको लोकतान्त्रिक गठबन्धनमा सहभागिता जनाइसकेको संघीय समाजवादी फोरम नेपालले संविधान संशोधन गठबन्धनको प्रमुख एजेण्डा हुनु पर्ने बताएका छन् ।
संविधान संशोधनलाई प्रमुख एजेण्डा बनाइ र सिटको उचित बाँडफाँड भए मात्र गठबन्धनमा सहभागी हुन सक्ने फोरम नेपालका नेता अशोक राइले बताएका छन् ।
यता फोरम नेपालका सचिव पर्शुराम बस्नेतले आफुहरु ससर्त गठबन्धनमा सहभागी हुने बताए । सचिव बस्नेतले भने,‘हामी सरकारमा छौँ, सरकारलाई दिएको समर्थन र लोकतान्त्रिक गठबन्धन गर्नेमा कुनै कसर बाँकी राख्दैनौ, नेपालमा लोकतान्त्रिक शक्तिहरु एक ठाउँमा उभिनु पर्छ । अरु कसैको केही लाग्दैन, ६ वटा लोकतान्त्रिक दलहरु एक भएर वाम एकताको चुनौतिलाई तोड्नु पर्छ ।’
उनले अघि थपे,‘लोकतान्त्रिक गठवन्धन स्थानीय तहको निर्वाचनमा जनताले दिएको जनमतका आधारमा हुनुपर्छ, सिट बाडफाँडमा ध्यान दिनुपर्छ, कुनै पनि हालतमा एकता हुनुपर्छ, गठवन्धन हुनुपर्छ ।’
नेता बस्नेतले संविधान संशोधन, मधेश आन्दोलन, १० वर्षे जनयूद्ध, थारु आन्दोलनले प्रचण्डलाई सरकारमा जाने मौका दिएको भन्दै आज आएर वाम एकताको नाममा सबै परिर्वतनहरु खोलामा बगाएको आरोप लगाए ।



