गोविन्द महतो (दर्शन)
बन्दुकको नाल र बुलेटको भरमा संविधान जारी गरेर भर्याङ (सिढी) चढेको सरकार र शिर्ष तीन दलका नेताहरु अब भने भर्याङ (सिढी) चढ्न साह्रै गाह्रो भए जस्तो छ । आफ्नै देशमा एकातिर मातम मनाईरहेको बेला दिपावली मनाईरहेको सरकारलाई बुलेटको आवाज भन्दा जनताको आवाज कति बुलन्द हुँदो रहेछ भन्ने कुरा ७/८ दिनमै प्रष्ट भएछ ।
हालसम्म तराई मधेशमा चलिरहेको अधिकार प्राप्तिको आन्दोलनमा चार दर्जन भन्दा बढी मानिस मारिए । आजकल हरेक दिन तराई मधेशका जिल्लाहरुमा टायर बल्छ, शिर्ष नेताहरुको पुत्ला दहन हुन्छ, कति प्रदर्शनकारी घाईते हुन्छन्, कति हेर्दा हेर्दै गोलीको सिकार बन्छन् । यी घटनाहरु अहिले तराई मधेशमा सामान्य भइसकेका छन् । कतिबेला कहाँ, कुन ठाउँमा झडप हुन्छ र मान्छे मारिन्छन् भन्न गाह्रो छ ।
सुदूरपश्चिमको थरुहट क्षेत्र कैलालीको टिकापुरबाट सल्किएको आगो पूर्व तराईको जिल्लाहरु पर्सा, रौतहत, बारा, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, मोरङ्ग, तथा अन्य जिल्लाहरुसम्म पुगेको छ ।
तराईको अधिकांस जिल्लाहरुमा अहिले दनदनी आगो बलिरहेको छ । तराईका अधिकांस जिल्लामा मानिस आफै आगो भएका छन् । त्यस्तै पूर्वी पहाडी जिल्लाहरु पनि शान्त रहेको छैन, त्यहाँका आदिवासी जनजातिहरु पनि आन्दोलनमा होमिएका छन् । तर, काठमाडौंलाई यी कुनै कुराले केही फरक पारेको छैन ।
तराईको आगोको रापतापले खासै नछोए पनि विगत ७ दिन देखिको भारतीय सिमा नाकाबन्दीले भने काठमाडौं पनि प्रभावित भएको छ । सिंहदरबार, बानेश्वर र बालुवाटारलाई थोरबहुत छोएको अधिकार प्राप्तिको आन्दोलनले सीमानाका बन्द हुँदा राजधानी काठमाडौंको कान ठाडो–ठाडो हुन थालेको छ । तराईमा उठेको एक झिल्कोले सारा देश जलाउन सक्छ, भन्ने नेताले नबुझेको होइन, तर पनि अबुझ जस्तै तमासा हेरेर बसेका नेताहरुलाई सीमा नाकाबन्दीले ठुलै असर पारेको देखिन्छ । तराई मधेशको सिमावर्ती क्षेत्रहरुमा गरिएको नाकाबन्दीले सोझै ओलीको बोली बन्द हुन पुगेको छ ।
तराई मधेश डेढ महिनादेखि बन्द छ । दैनिक जीवन यापन गर्न अत्यन्त कष्टप्रद भएको छ । अस्पतालमा औषधिको अभाव हुन थालेको छ । मानिसहरुको घरमा चामल अभाव हुन थालेको छ । बैंकमा पैसा छ, तर हातमा आउँदैन । मधेशमा आगो बलिरहेको बेला काठमाडौं भने कुम्भकर्णको निन्द्रामा मस्त देखिन्छ । राज्यको सबै शक्ति लगाएर काठमाडौंमा अभाव हुन नदिइए पनि नाका बन्द हुँदा ठूला ठूला भाषणवाजी गर्ने तीन ठूला दलका नेताहरुको पसिना निस्कन थालेको छ । मधेशमा भर्खर सात दिनदेखि नाका बन्द हुँदा काठमाडौंको यो अवस्था भयो, अझै केही दिन यस्तै अवस्था जारी रहे काठमाडौं कति दिन मस्त रहन सक्छ र ?
भनिन्छ रातमा मानिसलाई ऐठन हुन्छ तर हाल मधेशमा मानिसहरु सुत्दा, उठ्दा, ब्रस गर्दा, खाना खाँदा समेत आन्दोलनलाई अगाडी बढाउने कुरा मात्रै गर्छन् । जबसम्म सरकारले आफनो ऐंठन कायम राख्छ, तबसम्म मधेशी सजिलै पछि हट्ने देखिदैन । तराई मधेशका आन्दोलनकारीहरु कहिल्यै झुक्न जानेको छैन र झुक्दैन पनि ।
सुरक्षाकर्मीको स्कर्टिङमा दैनिक उपभोग्य सामान रातारात भित्रियाई रहेको बेलामा काठमाडौंबासी तराईको ‘रमिते’ बनेका थिए तर अहिले मेला हेर्नेमा नभएर भोग्नेमा उनीहरु पनि परे । मधेशसँग गद्दारी र हेला गरेका उनीहरुले मधेशी मूलका मानिसहरुको दम्भ आँकलन गर्न थाले अब सायद ।
शिर्ष तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीका शीर्ष नेताहरु मधेशमा बढ्दै गइरहेको मृत्युको हिसाब किताब निकालेर राजनीतिक दाउपेचमा व्यस्त छन् । महोत्तरीमा प्रदर्शनको क्रममा सशस्त्र तथा नेपाल प्रहरीको गोली लागि छ जनाको ज्यान गइसकेको छ । त्यस्तै धनुषा, सप्तरी, सिरहा, पर्सा सहितका जिल्लाहरुमा मृत्युको क्रम सरकारले बढाउदै लगिरहेको छ । सरकारले बुलेटको प्रयोग गरेर भए पनि आन्दोलन दवाउन खोजेको थियो । तर, परिणाम उल्टो भयो । आन्दोलनकारीको मनमा लागेको आगोमा सरकारले पेट्रोल छर्कने काम गर्यो र त्यो आगो झनै दनदनी बल्न थाल्यो । महोत्तरी जिल्लाको जलेश्वमा टयुस्न पढेर आउँदै गरेका रोहन चौधरीको काजक्रियाका लागि सामान किन्न गएको बेला ७५ वर्षीय गणेश चौधरी पनि प्रहरीको गोलीको सिकार भए । गणेश चौधरी रोहनका हजुरबुवा थिए । यो घटनाले जो कोहीलाई स्तब्ध बनाउँछ । मनभित्र मर्ने र मार्नेसम्मको सोचको विकास गराउँछ । म पनि यी शब्दहरु लेखिरहँदा त्यस्ता कतिपय घटनाको स्मरण गर्दा, रगतको नसा नसाबाट आगोको ताप निस्कन्छ ।
प्रमुख तीन दलले मधेशीको अधिकार प्राप्तिको लडाईलाई कुन स्तरमा आंकलन गरे त्यो उनीहरुको बयानले प्रष्ट पारेको छ । मधेशीको अधिकार प्राप्तिको आन्दोलनलाई विहारीको अधिकार भनेर संबोधन गर्ने र केपी ओलीले त झनै ‘जनता’ को मृत्युलाई खेल नै सोचेको कारण मधेशीको लासको संख्या बढ्दै नै गयो । सर्प र भ्यागुतोको जुधाई जस्तै सम्झेर सरकारले ठूला–ठूला गहुमन र धामन, एनोकोण्डा सर्पहरुलाई जनताको ज्यान लिन पठाईरहेका छन् । मृत्युलाई राजनीतिक सरकारले सिकार गरेको जस्तो लिईरहेको छ । तराई मधेशमा मातम मनाईरहेको बेलामा सिकार खेलेर खुशीयाली मनाए जस्तो काठमाडौंमा दिपावली मनाउन ह्वीप जारी गर्छन् । मधेशमा प्रहरीद्वारा गोली ठोकी हत्या गरियो भने खुशीको भ¥याङ चढ्छ सरकार ।
विगतमा एउटै राजनीतिक उद्देश्यका लागि निरंकुश राजतन्त्रसँग लडेका एमाओवादी पनि यतिबेला निरङकुश खसवादी र पाएको उपलब्धिलाई गुमाउनु र आपसमा मधेशसँग लभ परेको भन्दै लोभ गरेर मधेशीको अधिकार खोस्न र मधेशीको अस्तित्व धरापमा पार्नुबाहेक केही गरेको देखिदैन । आन्दोनलमा उत्रिएका मधेशी, थारु, जनजाति सहितकाले वार्ताको माध्यमबाट माग पुरा गर्ने कोशिश गरे पनि सरकारले मधेशमा मान्छे मारेर वार्ताको वातावरण बिथोल्दै आन्दोलनलाई आफ्नो पैतालामुनी दबाउने प्रयास गर्यो ।
मधेशमा जारी आन्दोलनमा मधेशी दलले अपेक्षा गरे भन्दा धेरै जनसहभागिता भयो । सरकारले दबाउने प्रयास गर्दा पनि सकेन, अहिले पनि दबाउने सोचमा रहेको भए त्यो सरकार र यो देशकै लागि घातक सावित हुने छ । मधेशको प्रत्येक गाउँ, सहर र गल्लीबाट जनसागर ओर्लिने गरेको छ । स्वःस्फूर्त रुपमा जनताको उपस्थितिले लामो समय आन्दोलन चलाउन कुनै समस्या हुने छैन । डेढ महिना देखिको निरन्तर आन्दोलनले अब तराईमधेश भिजिसकेको छ । मद्दारीले नाच देखाए आफ्नो सत्ता कायम राख्न कांग्रेस, एमाले र एमाओवादीले कुनै पनि कसरत बाँकी राखेका छैनन् ।
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको मधेश प्रवेश मधेश आन्दोलनमा अर्को मोड आएको छ । अहिले उनको मधेश प्रवेशलाई विभिन्न अड्कलवाजी गरिन थालिएको छ । पहिले जसरी तराई ध्वस्त हँुदै थियो र काठमाडौं मस्त निन्द्रामा सुतेको थियो । त्यस्तै अहिले मधेशमा छ । अहिले तराई मधेशमा आन्दोलनकारीहरु रातभर जाग्राम बसेर सीमानाका बन्द गरेर मस्त देखिन्छन् भने राजधानी काठमाडौंमा मस्तले निदाएका मान्छेहरु ब्युँझिएका छन । हिजो मधेशलाई ‘ध्वस्त’ पार्न जसरी शिर्ष दलका नेताहरु लागेका थिए, त्यसरी नै काठमाडौं पनि आफैमा ‘मस्त’ भएर बसेको थियो । अब, तीन दलका नेता पनि झसङ भएका छन् र मस्त निदाईरहेको काठमाडौं पनि तर्सेको छ । अधिकार प्राप्तिको आन्दोलनको उचाई र त्यसको बल बल्ल सबैले महसुस गर्दैछन् । हिजोसम्म तपाईहरुको माग के हो भनेर प्रश्न गर्ने सरकार एकाएक, माग संबोधन गर्छु भन्न थालेको छ ।



