
हुलाकी न्यूज, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताले चीनको सहयोगमा नेपालमा बाम एकता भएको आरोप लगाएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा राजपाका उपाध्यक्ष बृषेशचन्द्र लालले चीनको सहयोगमा बाम एकता भएको दाबी गरेका छन् ।
उक्त कार्यक्रममा लालले भने,‘ कसैको ईशारामा नभएको भए यो कसरी रातारात वाम तालमेल र पार्टी एकताको प्रयास भयो त ? सोच्नुपर्ने कुरा त यहाँनिर छ, म दाबाका साथ भन्छु यो चीनको ईशारामा वामपन्थीहरुवीचको एकता प्रयास भएको हो । यसमा प्रत्यक्ष रुपमा चीनले भूमिका खेलेको छ ।’
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै उनले भने,‘प्रचण्डसँग थोरैपनि राजनैतिक नैतिकता छैन् । यदि त्यसो हुँदो हो त सरकारमा रहेर विपक्षीसँग गएर घाँटी जोड्ने काम गर्नु हुने थिएन, म यहाँबाटै आग्रह गर्छु बचेखुचेको थोरै नैतिकता बाँकी छ भने तत्काल सरकार छोडेर लोकतान्त्रिक मुल्य र मान्यताको सम्मान गर्नुस् ।’
मुलुकै ठुलो लोकतान्त्रिक शक्ति नेपाली काँग्रेसलगायत ६ दलहरु लोकतान्त्रिक मुल्य मान्यतामा उभिएका उल्लेख गर्दै लाले थपे,‘हाम्रो गठबन्धनले मुलुकलाई सवल बाटोमा लैजाने छ, यो गठबन्धनका सामु वाम एकताले हावा खानेछ । ’



