खगेन्द्र संग्रौला

समकालीन राजनीतिमा दक्षिण एसियामा मोदी दुई साइजका छन्— ठूला मोदी र साना मोदी । ठूला मोदी दिल्लीको सिंहासनमा विराजमान छन्, साना मोदीहरू छन् काठमाडौँको सिंहासनमा । यी हाम्रा साना मोदीहरू मलाई ठूला मोदीका लघुरूपजस्ता लाग्छन् । मैमत्त मनोवृत्ति उस्तै छ, कूपमण्डूक प्रवृत्ति उस्तै छ, अन्धराष्ट्रवादको हुंकार उस्तै छ ।

भारतका मान्यवर नरेन्द्र भाइ मोदी जब मञ्चमा भाषण गर्न उभिन्छन्, तिनको मुद्रा, तिनका वचन र तिनको भाषामा विनम्रता कतै पनि झल्किँदैन । मोदीबाबु तामसी, आवेगी, स्टन्टबाज र भ्रामक सपनाका उदार वितरक हुन् । अहिले यो हिमवत् खण्डमा ठूला मोदीको उपस्थिति अखण्ड ‘मुर्दावाद’मा छ । अलिअघि यहाँ यिनै मोदीको उपस्थिति अखण्ड ‘जिन्दावाद’मा थियो । सम्झ्यो कि आँखाअगाडि त्यो दृश्य झल्झली नाच्छ । स्थान संविधानसभा कक्ष ।

सन्दर्भ प्रधानमन्त्री भएपछि पाल्नुभएका ठूला मोदीको स्वागत । स्वागतकर्ता रैथाने साना मोदीहरू । चित्तको भित्री तहमा हिन्दु अधिराज्यको अटल कामना गर्ने ठूला मोदी आफ्नो भाषणमा ‘गणतन्त्र’को उच्चारण गर्छन् । रैथाने साना मोदीहरू कृतकृत्य हुँदै ताली ठोक्छन् । ठूला मोदी बुद्ध नेपालमा जन्मेका हुन् भनेर प्रमाणपत्र प्रदान गर्छन् । साना मोदीहरू मखलेल मुद्रामा ठूला मोदीलाई जदौ गर्छन् । दृश्य अजीव छ । दृश्यमा दिने र हात थाप्नेहरू छन् ।

दृश्यमा चाकरी ग्रहण गर्ने र चाकरी गर्नेहरू छन् । विशाल, शक्तिशाली र धनी देशका विशाल मोदीलाई सानो, निम्छरो र गरिब देशका लघु मोदीहरूले औपचारिकतावश संविधानसभामा भाषण गर्न दिनु ठीकै होला । तर, तिनका कपट लेपन गरिएका गुलिया वचनहरूबाट हौसिँदै र फुर्किँदै आफ्नो पहिचान, स्वाभिमान र धरातल नै बिर्सेर उन्मादी मुद्रामा ताली ठोक्नुचाहिँ लज्जास्पद आत्महीनता हो । ठूला मोदी उनै हुन् र उस्तै छन्, केवल समय–सन्दर्भ फरक छ । ठूला मोदीलाई जनकपुरबाट पारि विहारको चुनाव प्रचार गर्न धुमधाम रहर हुँदो हो । तर, हाम्रा साना मोदीहरूले आउन दिएनन् ।

हिजैमात्र देवतातुल्य ठानेर त्यसरी जयजयकार गर्नु र आज तिनै देवको जनकपुर आगमनलाई निषेध गर्नु मूर्खतापूर्ण कुरा थियो । ठूला मोदीको दम्भी चित्तमा प्रतिशोधको बीजारोपण भएको क्षण शायद त्यही हो । अहिले त्यो कटु भावले साकार रूप लिँदै छ । खोटो संविधान बनिसकेपछि ठूला मोदीले त्यसमा हात हाले । त्यो सुविचारित चाल थियो वा अन्धआवेगको क्रीडा थियो मलाई थाहा छैन । यता विवाह मण्डप तयार भइसक्यो । जन्ती आइसक्यो । जग्गेमा आतेपाते गर्ने आगो बलिसक्यो । त्यो अन्तिम घडीमा ठूला मोदीका दूत आएर भन्छन्— साइत रोक र यो विवाहबारे पुन:विचार गर ।

त्यो एक छिमेकीको आन्तरिक मामिलामा अर्को छिमेकीको नग्न र निर्लज्ज हस्तक्षेप थियो । महागडबडी त्यहीँबाट शुरु भयो । अहिले माथि पहाडमा राष्ट्रवादको ध्वजामुनि नरेन्द्र मोदीको ‘मुर्दावाद’को रटना छ, तल मधेशमा मुक्ति संघर्षको ध्वजामुनि उनै नरेन्द्र मोदीको ‘जिन्दावाद’को रटना छ । मलाई लाग्छ, यी दुबै रटना व्यर्थ हुन् । मैमत्त साँढे जब रिसाउँछ, त्यसको रिस छिटै मर्दैन । त्यसले केही न केही उपद्रो गरेरै छाड्छ । तसर्थ क्रुद्ध साँढेलाई देखाइदिन निष्फल राष्ट्रवादको गुड्डी हाँक्नु र मुर्दावादको रट लगाउनु थप हस्तक्षेप र थप दु:खलाई निम्त्याउनु हो ।

विडम्बनावश, दिल्लीले यताका साना मोदीहरूलाई संविधानमा खोसिएका सीमान्तकृत मधेशीहरूका समान हकबारे स्मरण गरायो । छिमेकीले दादागिरीको भाकामा ‘तेरो घरमा अन्याय छ, मिला’ भन्दा यताका मसिना मोदीहरूलाई लाज लाग्नुपर्ने हो । तर, लागेन । बरु तिनले मधेशको न्याय र समानताको आन्दोलनलाई दिल्लीका आँखाले हेरेर दूषित तुल्याउन खोजे । मानौँ डेढ महिनादेखि राज्यआतंकको सामना गर्दै अटुट चलिरहेको, सामान्य नरनारीहरूको उत्पात सहभागिता भएको, कि मर्छु कि बराबरी मनुष्यत्व र नेपालीत्व प्राप्त गरेरै छाड्छु भन्ने संकल्पको जगबाट उठेको मधेश आन्दोलन दिल्लीद्वारा प्रायोजित हो । मानौँ यो आन्दोलन पारिबाट आरोपित हो, मानौँ यो आयातीत र अमौलिक हो ।

अहिले दिल्लीविरुद्ध लक्षितजस्तो लाग्ने मौसमी राष्ट्रवादको आन्दोलन वास्तवमा मधेश आन्दोलनविरुद्ध लक्षित छ । यो आन्दोलनमा अखण्ड नेपाल अखण्डै प्यारो छ । तर विडम्बनावश, यसमा नेपाललाई खण्डित गर्ने खतराको विषालु बीज निहित छ । आयो कुरा अब मधेश आन्दोलनको ‘मोदी जिन्दावाद’को रटनाको । उत्पीडित र सीमान्तकृत मधेशीहरूले कि आफैँ लडेर आफ्नो मुक्ति प्राप्त गर्छन् अथवा ती पराश्रित भएर दासवत् जीवन जिउन अभिशप्त हुन्छन् । रोज्नलाई बाटा दुईटामात्र छन् । यो ‘मोदी जिन्दावाद’को अन्धवेगी बाटो दोस्रो बाटो हो । मोदी प्रवृत्ति दिल्लीको होस् वा काठमाडौँको त्यसको तात्त्विक चरित्र एउटै हो । मधेशको मुक्तिमा त्यो किमार्थ सहायक हुँदैन । मधेश आन्दोलनको ‘मोदी जिन्दावाद’ काठमाडौँको शासकीय वृत्तका लागि आफूलाई श्रेष्ठ र एक नम्मरको नेपाली र मधेशीलाई तुच्छ र दुई नम्मरको नेपाली देखाउने काइदाको बहाना बनेको छ ।

स्वतन्त्रता र समानताका लागि राज्यआतंकविरुद्ध ज्यान हत्केलामा राखेर आफू लड्नु छ, के को ‘मोदी जिन्दावाद’ ? जिन्दावाद हुनुपर्ने त मधेश–तराईका अगणित संघर्षशील जनताको पो हो । यो ‘मोदी जिन्दावाद’ त गर्नेभन्ने हनुमान पगरी गुथ्ने ढेडु भनेजस्तै पो भयो । यो ‘मोदी जिन्दावाद’ मधेश आन्दोलनको घाँटीमा झुन्ड्याइएको गाँड हो । गाँडले शोभा दिँदैन । यो ‘जिन्दावाद’को अर्को एउटा पाटो छ । मधेश आन्दोलनमा दिल्लीका ठूला मोदीको ‘जिन्दावाद’ प्रतीकात्मक रूपले काठमाडौँका साना मोदीहरूको ‘मुर्दावाद’ हो । यो ‘जिन्दावाद’बाट दिल्लीका ठूला मोदी त स्वभावत: प्रसन्न होलान नै्, यसबाट काठमाडौँका साना मोदीहरूलाई लज्जाबोध नहुनुचाहिँ लाजमर्दो कुरा हो । दिल्लीको हाउगुजी देखाएर मधेश आन्दोलनलाई कलंकित तुल्याउने, खण्डित गर्ने र मास्ने शासक वृत्तको घनघोर चेष्टा आफैँ थकित र गलित भएको छ । र, फेरि वार्ता शुरु भएको छ ।

तराई–मधेश आन्दोलनले हाम्रा साना मोदीहरूले भोगचलन गरिआएको काठमाडौँको सिंहासन खोस्ने दाबी किमार्थ गरेको छैन । त्यसको जम्मा दाबी अन्तरिम संविधानमा आफ्नो भागमा परेजति हकको हो । त्यसको जम्मा दाबी हाम्रा साना मोदीहरूले बकाइदा सहीछाप गरेर कबोल गरेका अधिकारहरू इमानसाथ दिऊन् भन्ने हो । त्यसको जम्मा दाबी आफ्नै देशमा दोस्रो दर्जाको मानिस र दोस्रो दर्जाको नागरिक हुनुको पीडा र अपमानबाट मुक्ति हो । त्यसको जम्मा दाबी कि देऊ बराबरी अधिकार कि म आफ्नो बाटो आफैँ रोज्छु भन्ने हो । दिल्लीका ठूला मोदीसँग हाम्रो कुनै अपेक्षा छैन ।

मेरो त तिनलाई केही भन्नु पनि छैन । साना मोदीहरूले आफ्ना क्षुद्र स्वार्थका लागि दाँत ङिच्च्याउँदै, हात मल्दै र इँइँ–मिमी गर्दै लैनचौर र दिल्ली धाएर घरीघरी हस्तक्षेपको निम्ता दिएपछि ठूला मोदीले मौका पर्दा गर्नु नगर्नु त गर्ने नै भए । म त भन्छु— दोष दिल्लीका ठूला मोदीको होइन, हाम्रै साना मोदीहरूको हो । घरभित्रको झगडा र द्वन्द्व घरभित्रै मिलाउन नसक्ने नालायक घरमूलीहरूलाई दण्डित गर्न बाहुबली छिमेकी हातमा कोर्रा बोकेर आउँछ–आउँछ । त्यो आयो, प्रत्यक्ष देखियो र भोगियो । आफ्नै आत्महीन र लज्जास्पद इतिहासबाट सिक्ने पालो अब हाम्रा साना मोदीहरूको हो । हाम्रा साना मोदीहरू निहित स्वार्थको कूपबाट बाहिर निस्केर तैबिसेक विवेकवान् हुँदै गए ठूला मोदीद्वारा हामीमाथि गरिने बोझ निश्चय नै हल्का हुँदै जानेछ । नयाँ पत्रिका

2 COMMENTS

  1. लेख समय सापेक्ष छ/ धन्यवाद / आफ्नो घर ठिक भए छिमेकी ले केहि गर्न सक्दैन/ नेपाल सरकार ले ४२ मधेशी हत्या गरेको मा चित्त दुखेकै होला / घर मा आगो लागेकोमा छिमेकी लाई गुहार्नु भन्दा आफ्नै ले निभाउनु पर्छ? कि पर्दैन?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.