रमेश ठाकुर, रौतहट, १५ असोज । रौतहटको गौर बैरगनिया सीमानामा मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरुले शुक्रबार पाँचौ दिन पनि रिले अनसन जारी राखेका छन् । रिले अनशनको पाँचौ दिन शुक्रबार महिला नेतृहरुले अनसनमा बसेर ऐक्यबद्धता जनाएका छन् ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको केन्द्रीय निर्णयअनुसार मोर्चाका नेता तथा कार्यकर्ताहरुले गौर बैरगनियाको सीमामा रहेको पुलमा गत सोमबारदेखि २४ सै घण्टा रिले अनसनमा बसेर नाका ठप्प पारेका हुन् । रिले अनसनको पाँचौ दिन शुक्रबार मधेशी मोर्चाका महिला नेतृहरुले सीमानामा धर्नामा बसेर नाराबाजी गरेका र विरोध प्रदर्शन गरेका छन् ।
पूर्व सभासद रम्भा देवी, महिला नेतृ किरण ठाकुर, शोभा देवी, गीता कुश्वाहा, सकुन्तला पटेल लगायत सयौंको संख्यामा रहेका महिला नेतृहरुले दशगजा क्षेत्रमा रहेको पुलमै अनसन बसेर नाराबाजी गरेपछि सवारीसाधनको आवागमनमा कठिनाई भएको छ । नाकामा अनसन बसेका कारण अहिले नेपाल भारतबाट हुने सम्पुर्ण कारोबार ठप्प भएको छ ।
त्यस्तै मधेशी मोर्चाको तराई मधेशमा जारी आमहड्तालको ४९ औं दिन पनि रौतहटको सदरमुकाम गौरलगायत प्रमुख बजारहरु पुर्ण रुपले बन्द रहेको छ । लामो समयदेखि मधेशी मोर्चाको आमहड्तालले गर्दा सर्वसाधारणको जनजिवन निकै कष्टकर बन्दै गएको छ । बन्दका कारण बजार तथा पसलहरु बन्द रहेका छन् भने विद्यार्थीहरु विद्यालय जान पाएका छैनन् ।
मोर्चाले शुक्रबारदेखि सरकारलाई कुनै पनि किसिमको राजश्व र कर नतिरी राज्यलाई असहयोग गर्न घोषणा गरेको असहयोग आन्दोलनका कारण रौतहटबाट संकलन हुने राजस्व रकममा पनि ठूलो प्रभाव परेको छ ।



