
हुलाकी न्यूज, गौर । तेस्रो चरणको स्थानीय निकायको निर्वाचनमा एमाले नेता एवं पुर्व प्रधानमन्त्री माधव नेपालको वडामा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल विजयी भएको छ ।
गौर नगरपालिकाको वडा नम्बर दुईमा राजपाका नेता राकेश कुमार झा विजयी भएका हुन् । गौर नपासहित आफ्नो वडा जित्न नेता नेपालले लाखौं रुपैया खर्च गरेका थिए । तर नतिजा राजपाको पक्षमा आएको राजपाका नेताहरुले बताएका छन् ।
मधेश आन्दोलनबाट राजनीतिमा प्रवेश गरेका झा राजपाका सक्रिय कार्यकर्ता हुन् । राजपा एकीकरण हुनु अघि उनी सद्भावना पार्टीबाट राजनीति गर्दै आएका थिए । नेता झाको आन्दोलनकारी छवी रहँदै आएको राजपाका नेता राजकुमार दास तत्माले बताए ।
नेता नेपालले मतदान गरेको उक्त वडामा नेकपा एमालेले चौथो स्थान हासिल गरेको छ । राजपाका उम्मेदबार झाले ३ सय ७३ मत ल्याएर विजय भएभने दोस्रो स्थानमा बहुजन समाजवादी पार्टी थियो ।



