हुलाकी न्यूज, लहान । स्थानीय तह निर्वाचनअन्तर्गत असोज २ गते सम्पन्न मतदानको गणना कार्य सिरहामा जारी छ ।
आज बिहानसम्म सिरहामा विभिन्न स्थानीय तहका १८ वटा वडाको मतगणना सकिँदा नेकपा (माओवादी केन्द्र)ले आठ वडा जितेको छ भने नेकपा (एमाले), संघीय समाजवादी फोरम नेपालले तीन-तीन र नेपाली काँग्रेस र राजपाले दुई-दुई वडामा विजय हासिल गरेका छन् ।
पछिल्लो प्राप्त परिणामअनुसार सिरहाको गोलबजार नगरपालिका–१ मा माओवादी केन्द्रका देवबहादुर मगर प्यानलसहित विजयी हुनुभएको छ भने धनगढीमाई नगरपालिका–३ मा पनि माओवादी केन्द्रकै देवन साह प्यानलसहित विजयी हुनुभएको छ ।
अर्नमा गाउँपालिका–१ मा वडाध्यक्ष माओवादी केन्द्रका उम्मेदवार गफार मियाँ ७२४ मत ल्याएर प्यानलसहित विजयी हुनुभएको छ भने अर्नामा–२ मा माओवादीकै गंगाप्रसाद महतो ५२३ मतसहित प्यानल विजयी हुनुभएको छ ।
मिर्चैया नगरपालिका–१ मा माओवादी केन्द्रका धनिकलाल यादव ८९९ मतसहित प्यानलसहित विजयी भएको छ भने विष्णुपुर गाउँपालिका–१ मा कोविन्द यादव ५१६ मत ल्याई प्यानलसहित विजयी हुनुभएको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ । योसँगै माओवादी केन्द्रले सिरहामा आठवटा वडामा जित हात पारेको छ ।
यसअघि माओवादी केन्द्रले सिरहाको कर्जन्हा नगरपालिकाको वडा नम्बर १ र ३ मा वडाध्यक्ष पदमा विजय हासिल गरेको थियो । कर्जन्हा नगरपालिका–१ मा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार मोहनबहादुर खत्री र सोही नगरपालिकाको वडा नम्बर ३ मा माओवादी केन्द्रकै कपलेश्वर यादव विजयी हुनुभएको छ ।
यस्तै, सिरहाको नवराजपुर गाउँपालिका–१ मा एमालेका रामअवतार यादव ९३६ मतसहित विजयी हुनुभएको छ । एमालेले धनगढीमाई नगरपालिका–१ मा पनि सफलता हात पारेको छ । एमालेका वडाध्यक्षका उम्मेदवार सूर्यनारायण महतो प्यानलसहित विजयी हुनुभएको छ । कर्जन्हा–२ मा एमालेका गणेशकुमार अधिकारी ४६६ मतसहित विजयी हुनुभएको छ ।



