अमरेन्द्र कुमार यादव, जनकपुरधाम १५ आश्विन । तीन दलले मधेशी–थारुको माग संविधान संसोधनमार्फत पुरा गरे मात्र आन्दोलन रोकिनु पर्ने धारणा सर्ववाधारणले राखेका छन् । उनीहरुले सहमतिको नाटक गरेर सरकारी पक्षले आन्दोलन तुहाउने गरेको र मधेशी पार्टीका नेताहरु सहमति कै भरमा सरकारमा जाने गरेको बताएका छन् ।
सर्वसाधारणले अहिले सहमति होइन, पुराना सहमति कार्यन्वयन आवश्यक रहेको बताएका छन् । सर्वसाधारणले मधेशवादी पार्टीलाई चुनौति दिदै भनेका छन्, ‘यत्रो लामो आन्दोलन भइसक्दा पनि माग पुरा नगरी सहमतिको नाउँमा आन्दोलन समाप्त पारियो भने मधेशी पार्टीकै विरुद्धमा आन्दोलनमा जानेछौं ।’
धनुषा क्षेत्र नम्बर एकका सर्वसाधारण विनोद रोहित भन्छन्, ‘मधेशमा जारी आन्दोलन आज ४९ औं दिनमा पुगेको छ, भोली ५० दिन अर्थात हाफसेन्चुरी पुग्नेछ । आन्दोलनप्रति सरकारले चासो दिएको छैन । आन्दोलन मधेशीको हक अधिकारको लागि हो, सरकारले यथासीघ्र माग सम्बोधन गरेन भने अव आन्दोलन देश विभाजन तिर मोडिन सक्छ ।’

मधेशवादी पार्टीप्रति लक्षित गर्दै रोहितले भने, ‘मधेशी मोर्चा वा कुनै मोर्चा सहमतिलाई देखाएर आन्दोलन रोक्यो भने त्यो मोर्चाका विरुद्ध आन्दोलन हुन सक्छ । त्यसकारण म मधेशवादी पार्टीहरुलाई चेतावनी दिन्छु कि पहिले संविधान संसोधनमार्फत मधेशीको माग पुरा गरिनु पर्छ अनी मात्र आन्दोलन रोकिनुपर्छ ।’
रोहितले केपी ओलीले आन्दोलनलाई हिंसात्मक बनाएको आरोप लगाए । उनले केही दलालहरुले मधेशमा पसेर आन्दोलन दबाउन र भड्काउन खोजेको बताए ।
धनुषा क्षेत्र नम्बर ५ का सर्वसाधारण राजु चौधरी भन्छन्, ‘मधेश आन्दोलन कुनै मधेशवादी पार्टीको होइन, यो आन्दोलन आम मधेशी जनताको हो । अहिले मधेशी जनताहरु संविधान संसोधन नभएसम्म आन्दोलन सशक्त बनाउने पक्षमा छन् । हामी आन्दोलन अझै सशक्त बनाउन तयारछौं ।’

चौधरीले भने, ‘हाम्रो माग सम्बोधन भएन भने हामीले तिर्दै आएका ७० प्रतिशत कर तिर्ने छैनौं । अहिले सहमतिको नाउँमा मधेशी नेताहरु विक्री भए भने तीनीहरुका विरुद्ध आन्दोलनमा उत्रिन्छौं । कयौं वर्षदेखि मधेशी नेताहरु खसबादीसँग लोभमा फसेर वार्ता र सहमति गर्दै आएका छन् तर कार्यन्वयन गराउन सकेका छैनन् ।’
रामचन्द्र यादव भन्छन्,‘मधेशीको माग जबसम्म संविधान संशोधन गरि पुरा हुँदैन तवसम्म आन्दोलनले झनै कडा हुँदै जानेछ । जवसम्म माग पुरा हुँदैन तबसम्म आन्दोलनमा रहने छौं ।’

यादवले भने, ‘मधेशमा भइरहेको सशक्त आन्दोलन र जनआन्दोलनलाई संस्थागत गरेन भने जारी राख्नेछौ । यो आन्दोलन एकपक्षीय, दुईपक्षीय आन्दोलन होईन यो तृपक्षिय आन्दोलन भईसकेको छ । तसर्थ यो आन्दोलनका मागलाई पुर्णरुपेन सरकारले पुरा गर्नुपर्छ ।’
त्यस्तै राजाराम साह भन्छन्, ‘अब यो आन्दोलन जारी हैन अब हामीलाई यो आन्दोलनको स्वरुप बदल्नुपर्छ । यो आन्दोलनको निकास सरकार छिट्टै गरेन भने हामी जेपनि गर्न बाध्य हुनेछौ ।’

‘यसअघि पनि धेरै पटक सहमति भइसकेको विषयमा के सहमति गर्नु पर्छ र ? अव सहमति होइन एक्सन चाहिएको छ ।’–साहले भने,‘खसबादीसँग लोभमा फसेर आएका नेताहरुको मधेशमा काम छैन । अहिले पनि सहमतिको नाउमा सरकारमा जाने नौटंकी गरे भने हामी उनीहरुलाई अस्वीकार गर्नेछौं ।’



