हुलाकी न्यूज, चितवन । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले माओवादी केन्द्रसँग पार्टी एकताको सम्भावना नरहेको बताउनुभएको छ ।

आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाटो बिराएकाले पार्टी एकता सम्भव नरहेको बताउनुभयो ।

प्रचण्डले नयाँ जनवादी क्रान्तिको बाटो छोडेर लोकतान्त्रिक पद्धति, १२ बुँदे सहमति, जनमुक्ति सेनालाई नेपाली सेनामा समायोजनको समयसम्म आइपुग्दा उहाँले बाटो बिराएको वैद्यको भनाइ थियो ।

बहुलवादलाई स्वीकार गरेर जाने कम्युनिष्ट नभएको भन्दै उहाँले माओवादी केन्द्रले कम्युनिष्ट सिद्धान्त छाडिसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “माओवादी केन्द्र अब नामधारीको कम्युनिष्ट मात्रै हो ।” प्रचण्ड पश्चगामी दिशामा गइसकेको भन्दै उहाँले भन्नुभयो “काँग्रेससँग बाटो सोझाउँदैछ माओवादी केन्द्र ।” कम्युनिष्ट एक भएर जानुपर्ने भन्दै उहाँले अहिलेको संविधान नमान्ने र सरकारमा नजाने बीचमा एकता हुनसक्ने उहाँले बताउनुभयो ।

जसका लागि बिप्लव र मोहनबिक्रमसँग कुराकानी भइरहेको उहाँले बताउनुभयो । नयाँ जनवादी क्रान्ति सम्पन्न भइनसकेको भन्दै उहाँले यसलाई सम्पन्न गर्न पोखरामा असोज २१ र २२ गते हुने राष्ट्रिय सम्मेलनले कार्यदिशा तय गर्ने बताउनुभयो ।

आफूहरु शान्तिपूर्ण आन्दोलनको पक्षमा रहेको बताउँदै वैद्यले सरकारको रबैयाले भावी बाटो कस्तो हुन्छ भन्ने कुरा निर्धारण हुने बताउनुभयो । अर्को एक प्रश्नमा उहाँले अबको संघ र प्रदेशको निर्वाचनमा जाने नजाने भन्ने विषयमा छलफल भइरहेको बताउँदै केही दिनमा टुंगो लाग्ने बताउनुभयो ।

वर्तमान सरकारले राष्ट्रियता, जनजीविकालगायतका समस्याको हल गर्न नसक्ने भन्दै उहाँले राष्ट्रिय स्वाधीनताको पक्षमा सरकारबाट अपेक्षा गर्न नसकिने बताउनुभयो ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.