हुलाकी न्यूज, जनकपुरधाम । दुई नम्बर प्रदेशको १ सय ३६ स्थानीय निकायमा शान्तिपूर्ण मतदान जारी रहेको छ । विहानेदेखि सुरु भएको मतदानमा मतदाताहरु उल्लेखिय रुपमा सहभागी भएका छन् ।

राजपाका अधिकांश नेताहरुले आ–आफ्ना क्षेत्रबाट मतदान गरेका छन् ।

एक उपमहानगर सहित १२ नगरपालिका र ६ गाउँपालिका गरी १८ तहमा निर्धारित समय ७ बजेदेखि साढे सात बजेसम्म सबैजसो मतदान केन्द्रमा मतदान सुरु भइसकेको धनुषाका मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतिले जनाए ।

जनकपुर उपमहानगर पालिका –१५ स्थित निमावि रामपुर मतदान केन्द्रमा मुख्य प्रतिस्पर्धी उम्मेदवारहरु सुरैमै पुगेकाले समान्य होहल्ला भएको थियो । मेयरका मुख्य प्रतिस्पर्धी उम्मेदवारहरुका समर्थकले होहल्ला गर्न थालेपछि सुरक्षाकर्मीले शान्त पारेपछि साढे सातबजेबाट मतदान सुरु भएको मतदान अधिकृत सुरेश शर्माले जानकारी दिए ।

नेपाली काँग्रेसका नेता एंव पूर्व गृहमन्त्री विमलेन्द्र निधिले धनुषाको नगराईन नगरपालिकाको मावि नगराइन मतदान केन्द्रबाट साढे सातबजे मतदान गरे । कृषिमन्त्री रामकृष्ण यादवले औरही गाउँपालिकाको कप्टौल मतदान केन्द्रमा र खानेपानी तथा सिँचाइ मन्त्री महेन्द्र यादवले लक्ष्मिनियाँ गाउँपालिकाको बनिगामा प्रावि मतदान केन्द्रमा मतदान गरेका छन् ।

प्रदेश नम्बर २ को केन्द्र सहर जनकपुर उपमहानगरका मेयर पदका मुख्य प्रतिस्पर्धी नेपाली काँग्रेसका मनोजकुमार साहले जनकपुर –१२ निमावि रामपुर मतदान केन्द्र र राजपा नेपालका लालकिशोर साहले जनकपुर –८ बागवानी मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् । जनकपुरलगायत जिल्लाका १८ वटै स्थानीय तहमा अपेक्षा गरिए भन्दा बढी शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी दिलिप चापागाईले जनाए ।

मुख्य निर्वाचन अधिकृत मैनालीका अनुसार बिहान ११ बजेसम्म धनुषमा ३० प्रतिशतभन्दा बढी मतदाताले मतदान गरिसकेका छन् भने मतदान गर्न मतदान केन्द्रहरुमा उल्लेख्य सहभागिता रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.